लक्ष्यभन्दा चार सय प्रतिशत बढी राजस्व संकलन



रसुवा : रसुवागढी भन्सार कार्यालयले असोजमा लक्ष्यभन्दा करिब चार सय प्रतिशतले बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा दुई अर्ब ३२ करोड ६९ लाख ७६ हजार राजस्व संकलन गरेको हो ।

 

यो लक्ष्यको तुलनामा तीन सय ८७.२२ प्रतिशत बढी हो । कार्यालयका अनुसार असोजमा ६० करोड नौ लाख ३८ हजार राजस्व उठाउने लक्ष्य थियो।

 

चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो दुई महिना लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको थिएन । साउन महिनामा लक्ष्यको ५२ प्रतिशत र भदौमा ३१.६१ प्रतिशत राजस्व संकलन गरेको थियो ।

 

साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड चार लाख ७७ हजार उठेको थियो । भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ।

 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब दुई करोड ४३ लाख ७६ हजार लक्ष्य थियो । लक्ष्यभन्दा एक सय ४२.२२ प्रतिशत राजस्व उठिसकेको भन्सार अधिकृत तथा सूचना अधिकारी धर्मराज सुवेदीले बताए ।

 

तीन महिनामा दुई अर्ब ८७ करोड ९० लाख ३२ हजार असुली गरिसकेको उनले बताए । कार्यालयले वार्षिक लक्ष्यको ४० प्रतिशत राजस्व असुली गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्