बागमती नदीमा हराइरहेका तीन बालिकाको शव फेला



जनकपुरधाम : रौतहटको बागमती नदिमा गत आइतबार पौडी खेल्ने क्रममा डुबेर हराइरहेका तीनजना बालिकाको शव फेला परेको छ ।

ऋषिपञ्चमीको अवसरमा आइतवार बिहान १० बजे रौतहटको गढिमाई नगरपालिका–७ धर्मपुरघाटस्थित बागमती नदीमा नुहाउन जाँदा डुबेर बेपत्ता भएका तीनै जना बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

नदीमा पौडी खेल्ने क्रममा डुबेर धर्मपुर टोलका भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, छट्टु मुखियाकी १० वर्षीया छोरी चन्चलकुमारी मुखिया र सोही ठाउँका लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास बेपता भएकी थिइन ।

भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखियाको शव आइतवार नै फेला परेको थियो भने लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता र छट्टु मुखियाकी १० वर्षीया छोरी चन्चलकुमारी मुखियाको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

यता घटनाप्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुःख व्यक्त गरेका छन् । उनले मृतकहरुको आत्मको चिरशान्तिको कामना गर्दै मृतका परिवारप्रति सम्वेदना प्रकट गरेका छन् । साथै प्रदेश सरकारले मृतक परिवारलाई १–१ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

प्रकाशित : भदौ १०, २०७७

प्रतिक्रिया दिनुहोस्