पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु



पोखरा : पोखरामा कोरोना संक्रमित ३२ वर्षीया महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आइसीयूमा उपचाररत महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–११ की उनी भदौ ७ मा प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनमा कुनै पनि किसिमको दीर्घ रोग नभएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए ।

उनलाई ज्वरो आउने र श्वास फेर्न गाह्रो भएपछि गत शनिबार उनी पोखराकै कास्की सेवा अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । अस्पतालको आईसीयूमा तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको पनि स्वाब परीक्षण गरिएको थियो ।

कोभिड–१९ उपचार केन्द्रमा हालसम्म ५ जनाको निधन भएको छ । तीमध्ये पोखराका ३ जना हुन् । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्