मेला हेर्न गएकी किशाेरी बलात्कृत, माेटरसाइकलमा अाएका अाराेपी फरार



चन्द्रपुर : मेला हेर्न गएकी एक किशोरीलाई तीन जना युवकले सामूहिक बलात्कार गरेका छन्। राैतहटकाे गुजरा नपाको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई तीन जना युवकले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

 

आइतबार राति मेला हेर्न गएकी ती किशोरीलाई सोमबार बिहान उज्यालो नहुँदै घर पुर्‍याइदिने भन्दै चिनजानकै एक छिमेकी युवकले मोटरसाइकलमा राखेर मनर्वास्थित नहरको डिलमा ल्याएर उनीसहित उनका तीन जना साथीले बलात्कार गरेको पीडित पक्षको आरोप छ।

 

नहरको डिलमा बलात्कार गरेर पुन जंगलतर्फ मोटरसाइकलमा राखेर लैजाँदै गर्दा बस्तीछेउमा पुगेपछि किशोरीले मोटरसाइकल चलाइरहेका आरोपीको हात टोकेर मोटरसाइकल लडाइ गुहार मागेपछि तीनै जना युवक फरार भएको पीडित किशोरीले प्रहरीसमक्ष बताएकी छन्।

 

आरोपी तीनै जना फरार रहेका छन्। सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता भएको छ।  बिहानै भएको घटनाको प्रहरीलाई साँझ मात्रै जानकारी दिएकाले आरोपी फरार हुने मौका पाएको प्रहरीको भनाइ छ।

 

किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान र आरोपीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले जनाकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्