कोरोनाबाट बच्ने एकमात्र उपाय–जनस्वास्थ्य मापदण्ड : डा. शेरबहादुर पुन



विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीबाट नेपाल पनि प्रभावित छ । सन् २०१९ को डिसेम्बर अन्तिमबाट चीनको वुहान सहरबाट शुरु भएको संक्रमण हालसम्म २१३ देशमा फैलिसकेको छ । पछिल्लो समय नेपालमा पनि तीव्र रुपमा फैलिने क्रममा रहेको यो भाइरस अहिले समुदायस्तरमै फैलिएको भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । केही जनस्वास्थ्यविज्ञले नेपालमा भाइरसको संक्रमण उत्कर्षमा पुग्न लागेको चेतावनी समेत दिइरहेका छन् । यसैबीच कोरोना संक्रमणसम्बन्धी नेपालको पछिल्लो स्थिति, तयारीको अवस्था र कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा लगायतका विषयमा द नेपालटप सम्वाददाता आशा साहले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

नेपालमा कोरोना संक्रमण कुन अवस्थामा छ ? हामी कुन अवस्थामा छौं ?
– नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा छ । यो फैलिरहेको अवस्था पनि हो । अहिलेको अवस्था हेर्दा यो बढिरहेको छ र अरु केही समय बढ्ने संकेत देखिन्छ ।

पछिल्लो सयम काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । त्यसो भए उपत्यकाको अवस्था कस्तो छ ?
– केही समय अगाडिभन्दा तुलनात्मक रुपमा संक्रमण बढेको देखिन्छ । पहिला विशेष गरी काठमाडौं बाहिरबाट आएकाहरुमा संक्रमण देखिएको थियो भने अहिले स्थानीयवासीमा संक्रमण देखापर्ने क्रम जारी छ । अब विस्तारै समुदायतिर कोरोना संक्रमण फैलिसकेको भन्ने देखाउँछ ।

त्यसो भए उपत्यकामा संक्रमणको अवस्था जटिल स्थितिमा छ ?
– जनस्वास्थ्यका मापदण्डहरु छन् । त्यसलाई हामीले सहज तरिकाका साथ अबलम्बन गरेनौ भने त्यसले थप समस्याहरु निम्तिन सक्छ । हामीले योभन्दा अगाडिदेखि भन्दै आएका छौ कि–अझ पनि जनस्वास्थ्यको मापदण्डलाई हामीले आत्मसात गर्न बेवास्ता गर्यौ भने यसको नतिजा राम्रो हुने देखिदैन ।

अहिले जुन गतिमा कोरोना फैलिरहेको छ, जुन शैलीमा काम भइरहेको छ, के यो अझै भयावह हुने संकेत देखिन्छ । के अब संक्रमण वृद्धिदर रोक्नै नसकिने अवस्था आएको हो ?
– यसबारे उत्तर दिन अलि गाह्रो छ । अहिले पनि हामी केही नगरी चुपचाप बस्यो भने आगामी दिन त्यति राम्रो हुँदैन । तर, यो बीचमा केही उपाय अपनायौ र रोक्ने कोशिस गर्यौ । हामी पनि त्यसमा सहभागी भयौ र जनस्वास्थ्यको मापदण्डका साथै सम्बन्धित निकायका कुरा आफ्नौ ठाउँमा होला । यदि हामीले कोशिस गर्यौ भने भयावह अवस्थामा पुग्नैपर्छ भन्ने छैन । तर, यी कुराको बेवास्ता गर्यौ भने जुन परिकल्पना गरिरहेका छौ खराब अवस्था नआउला भन्न सकिँदैन । तर, यसको मतलब यो पनि हैन कि आउनै पर्छ भन्ने जरुरी छैन । तर, यसका लागि हामीले सतर्क रहने र सजगता अपनाउने काम चाहि गर्नुपर्ने हुन्छ ।

तर, आम नागरिक सचेत हुन नखोजेका हुन् की सचेतना नपुगेको हो ?
– कहिलेकाही मानिसहरु कुनै बिम्बमा गएर चेत खुल्न पनि सक्दछन् । हामीले त्यसलाई आँखा चिम्लेर गर्दैगर्दैनौं नभनौं । जब अवस्था भयावह बन्दै जान्छ पक्कै पनि आफ्नो घर अगाडि, आफ्नो परिवारमा समस्या देखिदै गयो भने केही न केही त होला । हामीले पहिलेदेखिनै भन्दै आएका छौं कि तपाई हामी जो कोहीले जनस्वास्थ्यको जुन मापडण्ड छ पक्कै पनि पूर्णरुपमा पालना गरेकै थिएनौं । जसको कारणले अहिले यो संक्रमण बढ्दै छ । अब फेरि पनि हामीले लापरबाही वा अटेर गरौं भने अवस्था त्यति राम्रो हुँदैन । तर, कतै कुनै समयमा पुगेर चेत खुलेर र सरकारले कडा नियम लागू गर्यो भने अवस्था भयावह हुन्छ भन्ने छैन । यसका लागि हामी कति यसलाई अनुसरण गर्छौं भन्ने हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । अझै पनि नियन्त्रणको उपाय के हो ?
– संक्रमित निको हुने प्रतिशत घट्दो भन्ने कुरा छ, त्यो चाहि के हुन्छ भने–हामी कुनै एक व्यक्तिलाई उपचार गर्दा या निको भएर डिस्चार्ज हुनका लागि लगभग १४ दिन लाग्छ । त्यसमा केही थपघट होला । तर, जुन संक्रमितको संख्या बढ्ने क्रम छ त्यो बढेको हुनाले त्यसलाई प्रतिशतमा हेर्नाले यसलाई अत्यधिक मात्रामा बढ्ने र डिस्चार्ज भएर जाने संक्रमितको जुन अवधि छ त्यो त्यही रहने हुँदा डिस्चार्ज भएर जानेको प्रतिशत घटेको हो । पहिला सीमित मात्रामा संक्रमित देखिन्थ्यो भने पछिल्लो समय संक्रमितको संख्या एक हजारसम्म पुगेको छ । त्यसले गर्दा संक्रमित तीव्र गतिमा बढ्दा र ठीक भएर जानेको संख्या त्यही अवधि रहिरहेको हुनाले यस्तो अवस्था देखिएको हो । अहिले पनि बिरामीहरुको चार्ट हेर्ने हो भने ६÷७ दिनमा कोरोना निको भएर गएका निकै छन् । यसलाई अस्पताल अनुसार हेर्ने हो भने स्वास्थ्य लाभ हुने जुन अवधि छ त्यसमा खासै धेरै फरक छैन । तर, हामीले हिसाब गर्ने बेला तीव्र गतिमा संक्रमितको संख्या बढ्ने र ती व्यक्तिहरु सुधार हुन लगभग त्यही अवधि राख्नुपर्ने भएकोले प्रतिशतमा अलि कम हुँदै आएको देखिन्छ ।

विज्ञहरु कोरोना संक्रमण समुदायस्तरमै फैलिइसक्यो भन्छन् । तर, स्वास्थ्य मन्त्रालय यो स्वीकारर्न तयार छैन । तपाईलाई के लाग्छ ?
– यसमा संकेतहरु प्रशस्त छ । यसमा दुई मत छैन । किन? भन्दा हाम्रो समाजभित्रबाटै थाहा नपाएर अरु उपचारको लागि आउने, तर कोरोना संक्रमण परीक्षण गर्दा फेला परेको थुप्रै उदाहरण छन् । तर, त्यसलाई हामीले प्रमाणित पनि गर्नुपर्ने हुन्छ, प्रमाणसहित । त्यसको लागि समुदायमै गएर परीक्षणको दायरा बढाउनुपर्ने हुन्छ, पीसीआर टेस्ट होस् वा अन्य । कुनै पनि विधिबाट परीक्षणको दायरा ठाउँठाउँमा बढाउनुपर्छ । परीक्षणको दायरा बढाउँदा कुन ठाउँमा संक्रमित छन् भन्ने यी सबै कुराको अध्ययन गरेर टेस्ट गरेर भन्नुपरे आधिकारिकता बढी हुन्छ । हैन भने धेरै विज्ञले पूर्णरुपमा समुदायतिर आइसकेको अवस्था छ भनेर भनिरहेको पाउन सकिन्छ । तर, पनि त्यसका लागि प्रमाणित गर्नुपर्ने हुन्छ । प्रमाणित केले गर्छ भने–संक्रमितको जुन परीक्षणहरु छन् त्यो परीक्षणहरु पोजेटिभ देखियो भने हामीले छ भनेर निश्चित रुपमा भन्न पाइन्छ । त्यो चाहि छिटोभन्दा छिटो गर्दा राम्रो हुन्छ । त्यसपछि हामीले समुदायमा गएको न गएको थाहा हुन्छ र त्यहिअनुसार हामीले योजनाहरु बनाएर कार्यान्वयन गर्न सजिलो हुन्छ । तर, अहिले संकेतहरु र उदाहरणहरु प्रशस्त छन् ।

अस्पतालमा आइसोलसन शय्या भरिसके, शय्या नपाएर संक्रमित घरमै बस्न बाध्य छन् । यो समस्याको व्यवस्थापन कसरी हुन्छ ?
– अहिलेको लागि सम्भव त्यस्तो धेरै छैन । किन? भन्दा हामीसँग अस्पतालहरु रातारात यही खालको बनाउन त सकिँदैन । अस्थायी रुपमा चाहि हामीले सोच्न सकिन्छ । जुन विदेशमा पनि देखिराखेकै कुरा हो । अहिलेको हाम्रो उपाय भनेको संक्रमितको संख्या बढ्ने छ । पहिला पहिला चाहि संक्रमण भएको र लक्षण नभएकाहरुलाई पनि अस्पताल लगेर राख्ने चलन थियो । अब यो संक्रमितको संख्या विस्तारै समुदायमा एकपछि अर्को देखिदै गर्दा त्यो सम्भावना मैले देख्दिन व्यवहारिक रुपमा । तर, यसको लागि अहिलेको लागि कि त छिटो बनाउन सकिने अस्थायी खालको कोभिड अस्पतालको निर्माण गर्नुपर्ने परिकल्पना गर्नुपर्ने हुन्छ । नत्र अहिले जुन आइसोलेसन छ त्यसलाईनै निरन्तरता दिनुपर्ने हुन्छ । तर, त्यहाँ चाहि हामीले के विचार गर्नुपर्छ भने होम आइसोलेसन भनेको आफ्नो परिवार हुन्छ ।

यदि त्यहाँ जो व्यक्ति संक्रमण भएर आयो र होम आइसोलेसनमा बसेका छन् उहाँहरुले लापरबाही गर्यो वा त्यसमा विशेष गरी एउटा नियम पालना गर्नुपर्ने हो त्यो गरेनन् भने त्यहाँ एउटा विस्फोट पनि हुन सक्छ । भनेको मतलब त्यहाँबाट संक्रमण फैलिन सक्ने एउटा मुख्य आधार बन्न सक्छ । त्यो नहोस् भन्नको लागि उहाँहरु अझ बढी चनाखो हुनुपर्छ । विशेष गरी होम आइसोलेसन बस्नेहरु ।

सरकारले निषेधाज्ञा लागू गरिसकेको छ, यसले कोभिड नियन्त्रणमा कति सहयोग गर्ला ?
– यसले केही हदसम्म सहज बनाउँला । तर, त्यो सहज बनाउनु भनेको चाहि कुनै कुनै बिन्दुमा गएर खोल्नु नै पर्ने हुन्छ । तर, खोलिसकेपछि तीन महिनाको जस्तो अवस्था सिर्जना भयो भने यो निषेधाज्ञा गरेको प्रतिफल राम्रो होइन भनेर म भन्छु । किनभने यो भन्दा अगाडि तीन महिना धेरै सर्वसाधारण मानिसले दुःख पाइसके । धैर्य गरेर आफ्नो घरमा बसेको पनि हो । तर, आखिर फलस्वरुप के भयो नतिजा ? नतिजा हेर्नुभयो भने अत्यधिक मात्रामा संक्रमित आउने जाने र बढ्ने क्रम जारी रह्यो ।

फेरि त्यो अवस्था सिर्जना नहोस् भन्नका लागि निषेधाज्ञा अन्तिम उपाय होइन् । यो केही समय हल्का त गर्ला किनभने यसले मानिसहरुको आवतजावत बन्द गर्ने भयो । तर, कतिसम्म गर्ने भन्ने कुरा हुन्छ । त्यो गरिसकेपछि यो बीचमा हामीले गर्नुपर्ने रोक्नुपर्ने, नियन्त्रणमा लिनुपर्ने काम कर्तव्य तुरुन्त गरिएन भने र हामीले हाम्रा आनिबानि र आचरणमा सुधार ल्याएनौ भने पहिलाको अवस्था फेरि नआउला भन्न सकिँदैन । त्यो कारणले गर्दा हरेक कुरामा ध्यान दिन जरुरी हुन्छ । यो तबसम्म हुन्छ जबसम्म हाम्रो छिमेकी देश भारतमा संक्रमितको संख्या घट्दैन र नियन्त्रणमा नआएसम्म हामीले यस्तो खालको समस्या बेहोरिरहनुपर्छ ।

निषेधाज्ञाको ठाउँमा अरु कुनै उपाय अपनाउन सकिन्छ कि ?
– हैन यो निषेधाज्ञा गरे पनि नगरे पनि निषेधाज्ञाको अर्थ के हो त भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ । यसको मतलब एक–अर्कासँग भेटघाट नहोस् । यहि कुरा निषेधाज्ञा नगरिकन तपाई हामीले सामाजिक दूरी कायम गर्ने, मास्क सहि तरिकाले लगाउने, साबुन पानीले नियमित रुपमा हात धुने गरेको भए यो केही गर्नु नै पर्दैनथ्यो । तर, हामीले त्यो गरेनौ, त्यो गर्नुपर्थ्यो । त्यसैले हाम्रो आनिबानि र आचरण सुघ्रिएन र यो बाध्य भएर गरियो । यो गर्दा केही हदसम्म साम्य होला । तर, पछि फेरि यो सकेपछि अवस्था त्यस्तै हुन्छ । त्यस्तैले महत्वपूर्ण कुरा भनेको हामीले हाम्रो तर्फबाट आनिबानि सुधार्नुपर्छ । यदि हामीले हाम्रो आनिबानि सुधारेनौ भनि जति लकडाउन निषेधाज्ञा गरे पनि कोरोना संक्रमण सामना गरिरहनुपर्छ ।

कोरोनाको त्रासमा नेपाली अझै कति समय बाँच्नुपर्ने हो ? के छ यसको उपाय ?
– त्यति सहज छैन । यसमा एउटा कुरा चाहि के हो भने खुला सिमाना भएको हुनाले त्यहाँ जबसम्म नियन्त्रणमा आउँदैन तबसम्म नेपालमा शून्यमा जान्छ भनेर चाहि म भन्दिन् । तर, यसको लागि हामीले नियन्त्रणको पाटोहरु चाहि अपनाउनुपर्छ । थोरै व्यक्ति संक्रमित हुँदा हाम्रा अस्पतालहरुले केही हदसम्म उपचार दिन सक्छ । अत्यधिक मात्रामा संक्रमण बढ्न दिनुभएन र त्यो रोक्नुका लागि विभिन्न उपाय अपनाउनुपर्छ ।

– कोरोना नियन्त्रणका लागि तपाईका के सुझाव छ ? यसबाट कसरी जोगिने हो ?
– जबसम्म यो संक्रमण देखिन्छ तबसम्म हामीले जनस्वास्थ्यको मापदण्ड अपनाउनै पर्छ । यो मापदण्ड अपनाउन अटेर गर्यौ, बेवास्ता गर्यौ भने यो निरन्तर रहिरहन्छ । तबसम्म रहन्छ जबसम्म भारतमा देखिन्छ वा विश्वमै यो संक्रमणले प्रभाव बनाएसम्म यो रहिरहन सक्छ । यसमा विभिन्न देश र विज्ञहरुको आआफ्ना धारणा छ । तर, यो सबै कुरा अनुमान मात्र हो । जस्तै स्वाइन फ्लु हरेक सिजनमा देख्ने गरिन्छ । त्यसैले यो अनुमान गर्ने आआफ्नो ठाउँमा छ । विज्ञहरुले सोच्ने पनि आआफ्नो ठाउँमा छ । तर, यही हुन्छ त्यही हुन्छ भन्ने छैन । हामीले कतिसम्म रहने होला भन्नुभन्दा खोप नआएसम्म हामी आफै सतर्क र सजग हुनुपर्छ ।

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर स्वास्थ्यकर्मीमाथि जुन दुर्व्यवहार भइरहेको त्यसबारे तपाईको धारणा के छ ?
– जसले दुर्व्यवहार गरेको छ एक पटक उहाँहरुले सोचौं । उहाँहरुलाई पनि संक्रमण भएर त्यहि दुर्व्यवहार गर्यो भने कस्तो अवस्था आउँछ । त्यो एउटा मनन गर्नुपर्ने हुन्छ । रोगले कसैलाई पनि चिन्दैन । उसलाई लाग्या छ, मलाई लाग्दैन भन्ने नसोचौ । त्यसकारण जो कोहीलाई पनि लाग्न सक्छ । जुन एउटा दुर्व्यवहार अथवा हतोत्साहित गर्ने जुन काम भइरहेको त्यसले चाहि एक प्रकारको स्वास्थ्यकर्मीहरुमा जुन मनोबल छ त्यो गिर्छ पनि । यो ठूलो उच्च अहोदादेखि जो कोहीलाई पनि लाग्न सक्छ । त्यसैले सबै जनाले एक पटक मनन गर्नुस् त्यो तपाईलाई नलाग्न सक्छ, तर तपाईको छोराछोरी वा परिवारका अन्य कोही सदस्यलाई लाग्न सक्छ । त्यस अवस्थामा तपाईलाई कस्तो लाग्छ ।

त्यसैले अहिले स्वास्थ्यकर्मीमाथि जसरी मनोवैज्ञानिक डर त्रास सिर्जना गरेको छ त्यो आफूलाई पर्दा कस्तो हुन्छ एक पटक सोच्नुपर्छ । जसले यो गरिरहनु भएको छ उहाँहरुलाई पनि यो रोग लाग्छ । कि भने तपाई हामी अटेरी नै छौं । जनस्वास्थ्यको मापदण्ड पालना नै गर्दनौं । त्यो अवस्थामा हामीले विचार गर्नुपर्छ । स्वास्थ्य जस्तो कुरामा कसैलाई हतोत्साही गर्ने काम नगर्नुस् । यो अवस्थामा हौसला दिनुपर्छ, स्वास्थ्यकर्मीलाई । किनकि यस्तो अवस्थामा स्वास्थ्यकर्मीले अझ काम गर्न सकोस् ।

प्रकाशित : भदौ १३, २०७७

प्रतिक्रिया दिनुहोस्