नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव फेला



लन्डन : गत मे ६ देखि बेपत्ता नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बीबीसीले जनाएको छ ।

बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १० बजेर ३० मिनेटमा दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए । तर, प्रहरीले उनको निधनलाई शंकास्पद रुपमा हेरेको छैन ।

स्थानीय जंगल, नदी किनारामा व्यापक खोजी गरेको प्रहरीले छरछिमेकका बासिन्दाहरुलाई आआफ्ना घरका बगैंचा, भण्डार गृह, गोठ आदि चेक गर्न आग्रह पनि गरेको थियो । कुनै स्थानीय बासिन्दा वा व्यवसायीसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको थियो ।

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि गत जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो ।

विशेषगरी ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्स प्रतिनिधिसँग निकट रहेका मोरिसले नेपालमा महाभूकम्पपछि गएका बेलायती राजकुमार ह्यारीको भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको थिए ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्