निषेधाज्ञाबारे थप निर्णय लिन गृहमन्त्रालयलाई प्रजिअहरुले अनुरोध गर्ने



काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने विषयमा निर्णय लिन गृहमन्त्रालयलाई उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले अनुरोध गर्ने भएका छन् ।

काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले मंगलबार भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरेका छन् ।

तीनवटै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिने नदिनेबारे आ–आफ्ना जिल्लाका स्थानीय तह, स्वास्थ्य कार्यालयसहित स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकार निकायसँग लिखित राय लिइसकेका छन् ।

उद्योग मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाएर उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ भने स्थानीय तहहरुले अझै केही साता निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

काठमाडौंका प्रजिअ जनकराज दाहालले सरोकारवाला निकायहरुबाट आएका सुझाव र वस्तुस्थितिको मूल्यांकन गरी तीन जिल्लाकै प्रशासनले सुझावसहितको प्रस्ताव गृहमन्त्रालयलाई पठाइने बताए ।

भदौ ३ गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । पहिलो पटक भदौ १० गतेसम्म कायम गरिएको निषेधाज्ञा अवधिलाई भदौ ९ गते बसेको तीन जिल्लाकै सुरक्षा समिति बैठकले भदौ १७ गते रातिसम्मलाई थपेको थियो । दोस्रो पटक थपिएको निषेधाज्ञा बुधबार राति १२ बजेबाट सकिँदैछ ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्