कार्यालयमै वडाध्यक्षको दादागिरी, सेवाग्राहीलाई थर्काउँदै भने : म भन्दा ठूलो कोही छैन, सकेको गर्नुस्



आफ्ना नातेदारको नाममा दर्ता गराए मात्रै वडामा उद्योग सञ्चालनको अनुमति दिने भन्दै सेवाग्राहीको कागजपत्र च्यातेको आरोप लागेका वडाध्यक्ष टिकाराम भण्डारी ।

कैलाली : कैलालीको माहोन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टा गाउँमा फर्निचर उद्योग सञ्चालनका लागि उद्योग दर्ता गर्न गएका व्यवसायीको कागजात वडाध्यक्षले कार्यालयमै च्यातिदिएका छन् । उद्योग दर्ताका लागी वडा कार्यालय पुगेका घोडाघोडी नगरपालिका १० पहलमानपुरका स्थानीय जनक जोशीको कागजपत्र वडाध्यक्ष टिकाराम भण्डारीले च्यातेका हुन । 

गत बिहीबार वडा नम्बर ६ को सोल्टा गाउँमा उद्योग सञ्चालन गर्न पाउने भनी वडा सचिवले दिएको अनुमतिपत्र वडाध्यक्षले दादागिरी शैलीमा च्यातेको जोशीले बताए । वडाध्यक्ष भण्डारीले आफ्ना नातेदार वा गाउँलेको नाममा दर्ता गराए मात्रै वडामा उद्योग सञ्चालनको अनुमति दिने बताएको जोशीको गुनासो छ । 

आफ्नो मान्छेको नाममा उद्योग दर्ता गराउन लगातार दाबाव दिएको र आफूले सो कुरा नमानेपछि वडा सचिवले सञ्चालन गर्न पाउने भनी लेखेको अनुमतिपत्र वडाध्यक्षले कार्यालयमै च्यातेको जोशीको आरोप छ । 

द नेपालटपलाई प्राप्त भिडियो रेकर्डमा वडाध्यक्ष भण्डारीले कागजपत्र च्यात्दै भनेका छन्, ‘वडा कार्यालयमा म भन्दा ठुलो केही छैन, मैले जे चाहन्छु त्यही हुन्छ, कसले आएर के गर्न सक्छ, जानुस् तपाईँ जे सक्नु हुन्छ त्यही गर्नुस् ।’

जोशीले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा वडाध्यक्ष विरुद्ध उजुरी दिएका छन् । यस विषयमा अनुसन्धान गरी दोषी पाइए वडाध्यक्ष भण्डारीमाथि आवश्यक कानुनी कारबाही अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिम्सेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्