गण्डकी बहुप्राविधिक शिक्षालय स्थापना



पोखरा : पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको छ ।

सो शिक्षालयमा यसै वर्षबाट ‘डिप्लोमा इन अटोमोबाइल इञ्जिीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जिीनियरिङ’को तीन वर्षे कोर्षको पठनपाठन सञ्चालन हुनेछ । अटोमोबाइल इञ्जिीनियरिङसम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा पोखरा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार अटोमोबाइल इञ्जिीनियरिङको अध्यापन गर्ने भएको हो ।

प्राविधिक शिक्षा तथा तालीम परिषद्सि(टिइभिटी)बाट सम्बन्धन लिएर वडा नं २९ भण्डारढीकमा स्थापना गरेको बहुप्राविधिक शिक्षालयबाट प्राविधिक विषयमा अध्यापन हुने महानगरले जनाएको छ । पछिल्ला वर्षहरुमा तीव्र विकास भएको क्षेत्रमध्ये अटोमोबाइल पनि एक हो । स्वदेशभित्रै गाडीका पार्टपूर्जा तथा उपकरणको उत्पादन नभए पनि छिमेकी मुलुकबाट आयात हुन्छ ।

गाडी तथा यसका पार्टपूर्जाको आयातसँगै यसको मर्मतसम्भारको काम गर्ने अधिकांश जनशक्तिसमेत विदेशी नै छन् । उच्च रोजगारी प्राप्तिको क्षेत्र भए पनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ । सिभिल इञ्जिीनियरिङ अधिकांश प्राविधिक शिक्षालयमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् । इञ्जिीनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्ष अघि अटोमोबाइल विषय अध्यापन गरिए पनि पनि हाल सोको पठनपाठन हुँदैन ।

सिटिइभिटीले विद्यार्थी भर्नाका लागि आवेदन खुलाउने र उत्तीर्ण विद्यार्थीलाई शिक्षालयमा अध्यापन गरिने महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । उनका अनुसार दुवै विषयमा ४८/४८ सिट सङ्ख्या निर्धारण गरिएको र एसइई उत्तीर्ण विद्यार्थीले आवेदन गर्न सक्नेछन् । आगागी दशैँपछि कक्षा शुरु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्