आइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितले निस्तै खाना खानुपर्ने बाध्यता



तनहुँ : तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास गुफा नजिकै रहेको दमौली अस्पतालको आइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बसेका सङ्क्रमितले खानासँग तरकारी निकै कम दिने गरेकाले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् ।

व्यास नगरपालिका–३ का एक सङ्क्रमितले खाना पर्याप्त भएपनि तरकारी कम मात्रामा दिने गरेको बताए । “खाना त पुग्दो मात्रामा पाइरहेका छौँ तर दाल तरकारी एकदमै कम मात्रै दिन्छन्, खाना राम्ररी खान पनि पुग्दैन,” उनले भने, “कहिलेकाँही त निस्तै पनि खाना खानुपर्ने बाध्यता हुन्छ ।”

उनका अनुसार तरकारी नपुगेर कतिपयले खाना नै छाडेका छन् । “मैले त कहिले खुर्सानीसँग त कहिले महसँग खाना खाने गरेको छु,” उनले भने, “यस विषयमा वडाध्यक्षलाई पनि पटकपटक भनेपनि कुनै सुनुवाइ भएन ।” उनका अनुसार कहिलेकाँही निस्तो खाना नरुचेपछि बिस्कुट र स्याउ खाएर भोक मेटाउने गरिएको छ । “निस्तो खाना रुच्दैन, खाना नै फाल्नुपर्ने अवस्था पनि आएको छ, भोक लाग्छ अनि बिस्कुटलगायत खानेकुरा खाएर भएपनि भोक मेट्छौ,” उनले गुनासो गरे ।

आइसोलेसनमा बस्नेलाई बिहान चिया, बिस्कुट, चना अण्डा दिने गरिएको छ । त्यस्तै बिहान ११ बजेभित्र खाना, दिउँसो खाजा र बेलुका पुनः खानाको व्यवस्था गरिएको छ । त्यस्तै कुनै बेला मासु पनि दिने गरेको आइसोलेसनमा बस्नेले बताए ।

सो आइसोलेसनमा अहिले १५ जना सङ्क्रमित छन् । तीमध्ये कतिपयलाई खोकी लागिरहेको छ । तरपनि अहिलेसम्म डाक्टर नआएको गुनासो छ । “म भदौ ११ गतेदेखि आइसोलेसनमा छु, डाक्टरको मुख पनि देख्न पाएका छैनौँ,” उनले भने, “एक जना महिला स्वास्थ्यकर्मी र सरसफाइ गर्ने मानिस मात्रै छन् ।” उनका अनुसार आइसोलेसनमा शौचालयको व्यवस्था भने राम्रो रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले धेरै जना हुँदा अलि अलि तरकारी कम हुनु स्वभाविक रहेपनि यसलाई सुधार गरिने जानकारी दिए । दमौलीस्थित एक होटलबाट आइसोलेसनमा रहेकालाई खानाको व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्