सुदूरपश्चिममा मृत्युदर स्थिर



सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोभिड—१९को सङ्क्रमणका कारण हुने मृत्यु दर स्थिर देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण भने बढ्दै गएको छ ।

हाल मृत्यु दर स्थिर देखिए पनि जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीले बताएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड—१९ उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिशियन कन्सल्टेन्ट डा शेरबहादुर कमरले सङ्क्रमित हुनेमध्ये बढी सङ्ख्यामा रोगसँग लड्न सक्ने क्षमता भएका युवा तथा वयस्क उमेरका भएको र दीर्घरोग लागेका व्यक्ति सङ्क्रमित नहुनाले प्रदेशमा सङ्क्रमित बिरामीको अवस्थामा पछिल्ला दिनमा जटिलता नदेखिएको बताए ।

‘‘बिरामीको अवस्था जटिल बन्न सक्ने जोखिम भने यथावत् रहेकाले निरन्तर निगरानीमा राखिरहेका छौंँ”, उनले भने । धनगढीस्थित सेती प्रादेशिक अस्पताललगायत अस्पतालमा पछिल्ला केही दिनयता सघन उपचार कक्ष अथवा भेन्टिलेटरमा राख्नुपर्ने खालका जटिलावस्थाका बिरामी नरहेको डा कमरले बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने भदौ १०गतेयता कोरोना भाइरसबाट कसैको मृत्यु भएको छैन । गत हप्तामा कोरोना सङ्क्रमित भने ४१५जना थपिएका छन् । भदौ १० गते कैलाली जिल्लाका कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको थियो । अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुईदुई र अछामका एक गरी ११ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थप सयभन्दा बढीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०१ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

आज सङ्क्रमित फेला पर्नेमा कैलाली,कञ्चनपुर, अछाम, बैतडी, बझाङ, डडेलधुरा र डोटी जिल्लाका छन् । यससँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या कूल पाँच हजार ८८० पुगेको छ । यीमध्ये सक्रिय सङ्क्रमित भने ८८४ पुगेका छन् । केही हप्तायता पिसिआर पद्धतिबाट शङ्कास्पदको स्वाबको नमूना सङ्कलन र परीक्षणको दायरा वृद्धि भएको छ । दैनिक हाल बढीमा एक हजार ७३० वटासम्म नमूना जाँच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्