विजय महरा मृत्यु प्रकरण : पूर्वसांसद पासवान आमरण अनशनमा



रौतहट : प्रहरी हिरासतमा मृत्यु भएका विजय महराका परिवारलाई न्याय दिलाउन माग गर्दै पूर्वसांसद विश्वेन्द्र पासवान मंगलबार रातिबाट आमरण अनशन बसेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाको मुख्य गेटकै आडमा पूर्वसांसद पासवान आमरण अनशन बसेका हुन् । अहिले उनको स्वास्थ्य अवस्था खराब हुन थालेपछि त्यहीँ स्लाइन दिइएको छ ।

महराको परिवारलाई न्याय दिलाउन गठित संघर्ष समितिले घटनाको छानबिन, दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्तिसहित १०बुँदे माग राखी एक सातादेखि गरुडामा प्रदर्शन गरिरहेको छ ।

गत साउन ३१ मा भएको गाउँकै निरञ्जन रामको हत्या आरोपमा महरालाई पक्राउ गरिएको थियो । प्रहरी हिरासतमा रहेका महरालाई सिकिस्त अवस्थामा अस्पताल लगिएको थियो भने उनको उपचार क्रममा मृत्यु भएको थियो । विजयका बुबा पनिलालले प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै कारबाहीको गर्न माग राखेका छन् ।

यही क्रममा निरञ्जन राम र विजय महरा हत्याकाण्ड संघर्ष समिति गठन गरेर प्रहरीविरुद्ध गरुडामा चरणबद्ध आन्दोलन भइरहेको छ । प्रहरीले निरञ्जनको हत्यामा संलग्न रहेको आरोपमा विजयलगायत गाउँकै सात जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दा चलाएको थियो । यातना दिन संलग्न रहेका भनिएका प्रहरीहरू निलम्बनमा परिसकेका छन् ।

यही घटनामा दोषीलाई कारबाहीको माग अघि सार्दै पूर्वसांसद पासवान अनशन बसेका हुन् । उनीसँगै राष्ट्रियसभाका पूर्वसदस्य रामप्रीत पासवान पनि अनशन बसेका छन् ।

प्रहरीले पक्राउ गरेका सिकेन्द्र पासवान, अजय राम, विवेक राय र अर्जुन रामलाई तत्काल रिहा गर्नुपर्ने, मृतक निरञ्जन र विजयलाई सहिद घोषणा गर्नुपर्ने, दोषी प्रहरीविरुद्ध मुद्दा दर्ता गरी कारबाही हुनुपर्नेजस्ता माग उनीहरूले अघि सारेका छन् ।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक सोनेलाल रामले बताएका छन् ।
प्रकाशित ः भदौ १७, २०७७

प्रतिक्रिया दिनुहोस्