स्तरोन्नति गरिदै सुदूरपश्चिमका नौ क्याम्पस



धनगढी : सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमुना क्याम्पसको रुपमा स्तरोन्नति गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नमुना क्याम्पसको रुपमा स्तरोन्नति गर्न लागि प्रदेशका सबै नौ जिल्लामा एकरएक वटा क्याम्पस छनोट गरेको छ ।

छनोट भएका क्याम्पसमा कैलालीको घोडाघोडी, कञ्चनपुरको महाकाली, डोटीको केदारज्योती कुञ्ज र डडेलधुराको त्रिवेणी बहुमुखी क्याम्पस छन् । बैतडीको जगन्नाथ, दार्चुलाको दार्चुला, बझाङको सुनकुडा, बाजुराको बाजुरा र अछामको अछाम बहुमुखी क्याम्पस पनि नमुना क्याम्पसका रुपमा स्तरोन्नति गर्न छनोट गरिएको छ ।

मन्त्रालयको उच्च शिक्षा शाखाका अधिकृत जयदेव महराले जिल्लामा सञ्चालित क्याम्पसमध्ये कम्तिमा पनि एउटा क्याम्पसलाई नमुना क्याम्पसको रुपमा स्तरोन्नति गर्नका लागि विश्वविद्यालय आयोगले बनाएको मापदण्ड, तोकिएका ५८ वटा विभिन्न सूचकहरु र क्याम्पसले भरेको स्वमूल्याङ्कन फारामका आधारमा क्याम्पसहरु छनोट गरिएको बताए । उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने प्रदेश सरकारको नीति बमोजिम छनोटमा परेका क्याम्पसलाई नमुना क्याम्पसमा स्तरोन्नति गर्ने पहल थालिएको हो । यसका लागि मन्त्रालयले ‘नमुना क्याम्पस तथा व्यवस्थापनसम्बन्धी निर्देशिका,२०७७’ तयार गरिरहेको छ ।

मूल्याङ्कन गर्दा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल कैलाली र कञ्चनपुरका विभिन्न पाँच वटा क्याम्पसले पाएको प्राप्ताङ्कको तुलनामा एकतह मूनि अङ्क प्राप्त गर्ने क्याम्पसहरु स्तरोन्नतिका लागि छनोटमा परेका हुन् । मूल्याङ्कनमा भने कैलालीको कैलाली बहुमुखी क्याम्पस पहिलो, टीकापुर बहुमुखी क्याम्पस दोस्रो, कञ्चनपुरको कञ्चन विद्यामन्दिर सामुदायिक कलेज तेस्रो, कैलालीको ऐश्वर्य विद्या निकेतन क्याम्पस, चौथो र कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पस पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्