भरुवा बन्दुकसहित काठ चिर्दै गरेको अवस्थामा २ जना पक्राउ



कैलाली : भरुवा बन्दुकसहित जङ्गलमा काठ चिर्दै गरेको अवस्थामा २ जना पक्राउ परेकाछन् भने ३ जना फरार रहेकाछन् । सब डिभिजन वन कार्यालय वर्दगोरिया र देउराली सामुदायिक वनबाट गएको ८ जनाको संयुक्त टोलीले भदौ १७ गते बिहान भरुवा बन्दुक सहित जङ्गलमा काठ चिर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो ।

मोहन्याल गाउँपालिका ६ र लम्कीचुहा ६ वडामा रहेको देउराली सामुदायिक वनको सिमानामा रहेको खहरे खोलामा पर्ने राष्ट्रिय वनको क्षेत्रभित्र सालको काठ चिरान गर्दै गरेको अवस्थामा मोहन्याल गाउँपालिका ६ बादेगौजाका ४३ वर्षीय नैन बहादुर सिँजाली मगर र ३६ वर्षका तुल बहादुर घर्तिमगर लाई पक्राउ गरेको हो । ३ जना फरार रहेको सब डिभिजन वन कार्यालय वर्दगोरियाका राम बहादुर रावलले बताए ।

सब डिभिजन वन कार्यालय वर्दगोरियाका प्रमुख सहायक वन अधिकृत कृष्ण बहादुर बोहराले पक्राउ परेका २ जनालाई कानून बमोजिम कारबाही गरिने बताए । घटनाको अनुसन्धान भइरहेकोले अहिलनै धेरै बोल्न नमिल्ने भन्दै फरार रहेका ३ जनाको खोजीकार्य समेत भइरहेको उनले बताए ।

घटनास्थल बाट तयारी अवस्थामा राखिएको २ थान भरुवा बन्दुक, १४ फुटका ९ थान सालको कडी, काठ चिर्ने ३ वटा आरा,२ बञ्चरा बरामत गरिएको रावलले जानकारी दिएकाछन् । तयारी अवस्थामा राखिएको भरुवा बन्दुक निष्कृय पारेर नियन्त्रणमा लिएको बताएको छ ।

विशेष सूचनाको आधारमा बिहान ३ बजे गएको टोलीले ६ बजे घटना स्थलमा पुगेर पक्राउ गरेको हो । पक्राउ परेका नैन बहादुर सिँजाली मगरले लम्कीचुहा नगरपालिका ६मा बस्ने गोविन्द चन्दले घरमा आएर ८० रुपैयाँ क्यूफिट दिनेगरी ज्यालादारीमा काममा लगाएको बताए । चन्दले पेश्की स्वरुप प्रतिव्यक्ति २ हजारका दरले ४ जनालाई सुरुमै ८ हजार दिएको मगर बताउँछन् ।

जंगलमै खान बस्नको व्यवस्था गरेर हामीलाई काम गर्न लगाए । भदौ १४ गतेदेखि जङ्गलमा काठ चिरान गर्न लागेको तुल बहादुर घर्तिमगरले बताए । काठ चिरान गर्न लगाउने गोविन्द चन्द निवर्तमान देउराली सामुदायिक वनको ७ वर्षसम्म निरन्तर अध्यक्ष समेत रहेको बताइएको छ । पूर्वअध्यक्ष समेत रहेका चन्द काठ तस्करीमा लाग्नु गलत भएको र उनलाई कारबाही हुनुपर्ने माग उपभोक्ताहरूले गरेकाछन् ।

देउराली सामुदायिक वनका वर्तमान अध्यक्ष ललित कामीले काठ चिरान गर्ने घटना स्थलमा पुग्दा काठ चिरान गर्ने र खाना बनाउने तयारी भइरहेको बताए । २ जनालाई वन कर्मचारीले नियन्त्रणमा लिएको र ३ जना भागेकोले समात्न नसकेको उनले बताए । नियन्त्रणमा रहेका दुईजना लाई सोधपुछ गर्दा गोविन्द चन्द र उनका भाइ मिलन चन्द्रले काठ चिराउन लगाएको भनेर जवाफ दिएको ललित कामीले बताएकाछन् ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्