दश दिनको फरकमा कोरोना संक्रमणबाट दिदीबहिनीको मृत्यु



विराटनगर : एक महिनाभित्र एकै परिवारका तीन जना सदस्यको मृत्यु भएको छ । तीनमध्ये दुई जनाको कोरोना संक्रमणका कारण एक जनाको कालगतिले मृत्यु भएको छ ।

गत साउन ३२ गते विराटनगर महानगरपालिका–११ मा ७० वर्षीय वृद्धको कालगतिले मृत्यु भएको थियो भने उनका दुई छोरीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

भदौ ९ र २० गते वृद्धका ४० र ४३ वर्षीय छोरीको मृत्यु भएको हो । वृद्धको मृत्यु प्रश्चात कोरोना नेगेटिभ देखिएको थियो । उनका दुई छोरीको मृत्यु भने कोरोना संक्रमणका कारण भएको हो ।

विराटनगर– ११ वडा का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले एक महिना नबित्दै एकै घरका तीन जनाको मृत्यु भयो बताए ।

उनका अनुसार मृतक परिवारका अन्य सात जना आफन्तलाई पनि कोरोना संक्रमण देखिएको छ । वृद्धको मृत्यु भएको २० दिनपछि ९ भदौमा ४० वर्षीया कान्छी छोरीको विराट मेडिकल कलेजमा मृत्यु भयो । कान्छी छोरीको मृत्यु भएको १० दिनपछि शुक्रबार राति ४३ वर्षीया जेठी छोरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको थियो ।

विराटनगर–१५ मिल्स एरिया घर भएकी उनी बुबाको काममा विराटनगर–११ स्थित माइतीमा बसेकी थिइन् । उनको मृत्युपछि कोरोना पोजेटिभ देखिएको थियो ।

पेट, छाती र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलाको ४३ वर्षीया दिदीलाई विराटनगरको न्युरो अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो । उनलाई १७ भदौमा संक्रमण पुष्टि भएको थियो ।

१८ भदौदेखि उपचार भइरहेको उनको शुक्रबार राति मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

कोरोना संक्रमणका कारण मृत्यु भएका दिदीबहिनीलाई आफन्तले विराटनगरका युवाहरुको सहयोगमा सिंघिया घाटमा अन्त्येष्टी गरेका थिए ।

प्रकाशित : भदौ २१, २०७७

प्रतिक्रिया दिनुहोस्