सुदूरपश्चिममा कोरोना अपडेट : करिब नौ प्रतिशतमा सङ्क्रमण



धनगढी : सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमुना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ ।

पीसीआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमुना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात् छ हजार १८ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको देखिएको छ ।प्रदेशको समाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक महिनाअघि भने कुल जाँच गरिएका नमुनामध्ये झण्डै १२ दशमलव सात प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको देखिएको थियो । सङ्क्रमणको जोखिम नहटेको भए पनि प्रदेशमा एक महिना अघिको तुलनामा हाल निको हुने दर भने बढ्दै गएको पाइएको छ ।

एक महिनाअघि सम्म कुल सङ्क्रमित भेटिएका चार हजार ६५८ मध्ये ७० दशमलव ३३ प्रतिशत् अर्थात् तीन हजार २७६ जना निको भई डिस्चार्ज भएका थिए । यही भदौ २० गतेसम्म आइपुग्दा कूल सङ्क्रमित छ हजार १८ मध्ये पाँच हजार १९८ जना अर्थात् ८६ दशमलव ३७ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् ।

यद्यपि दैनिक रुपमा सङ्क्रमित फेला पर्ने र डिस्चार्ज हुनेको सङ्ख्या भने केही घट्ने र बढ्ने गरेको छ । सक्रिय सङ्क्रमित पनि एक महिना अघिको तुलनामा घट्दै गएको छ । एक महिनाअघि कूल सक्रिय सङ्क्रमित एक हजार ३७३ जना रहेकामा भदौ २० गतेसम्म आइपुग्दा यो सङ्ख्या ८०९ जना पुगेको छ । कोभिड—१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलाली जिल्लामा सक्रिय सङ्क्रमित बिरामी पनि बढी भेटिने गरेका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण भित्रिएपछि शुरुको अवस्थामा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला बढी प्रभावित जिल्लाका रुपमा देखिएको थियो । आजसम्म कैलालीका छ, बझाङ र बाजुरामा दुई/दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । रोगको सङ्क्रमण फैलिन नदिन भदौ ४ गतेदेखि कैलाली जिल्लामा जारी निषेधाज्ञा शनिबारदेखि केही खुकुलो पारिएको छ । योसँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग फैलिन सक्ने जोखिम देखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्