महोत्तरीमा आत्महत्याको घटना बढ्दै



जनकपुरधाम : महोत्तरी जिल्लामा शनिबार एकै दिन तीनजनाले आत्महत्या गरेका छन् ।

जिल्लाको एकडारा गाउँपालिकाका १५ वर्षीय एक युवक, गौशाला नगरपालिकाका ३६ वर्षीय एक पुरुष र भङ्गहा नगरपालिकाका ६५ वर्षीय एक वृद्धले आइतबार आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महोत्तरीको एकडारा गाउँपालिका–४ हल्खोरीका १५ वर्षीय रजनिस कुमार यादवले आफ्नै घरको धुरीमा प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेका छन् भने गौशाला नगरपालिका–८ का ३६ वर्षीय मनोज महतो सुडीले घरदेखि १ सय ५० मिटर उत्तर पश्चिम वडा नं. ४ स्थित पानी ट्याङ्कि नजिक आँपको रुखमा पासो लगाई आत्महत्या गरेका छन् । त्यस्तै शनिबार नै जिल्लाको भङ्गहा नगरपालिका वडा नं।–७ मेघरौलका ६५ वर्षीय गणेशी ठाकुरले समेत आँपको रुखमा पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

शनिवार आत्महत्या गरेका तीनैजनाको शवलाई पोष्टमार्टम गरि परिवारजनको जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टले बताए ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको अवधिमा महोत्तरीमा २३ जनाले आत्महत्या गरिसकेका छन् भने प्रदेशभरिमा यस अवधिमा २ सय ७७ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिएका छन् ।

प्रकाशित : भदौ २१, २०७७

प्रतिक्रिया दिनुहोस्