वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय



काठमाडौँ : सरकारले वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने भएकाे छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बिहान बसेको बैठकले सो निर्णय गरेको जानकारी दिए ।

पछिल्लोसमय नेपालमा कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले कोभिड अस्पतालको संख्या थप गरिरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। १ हजार ८१४ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्