धनुषाका १५ स्थानीयतहले सार्वजनिक गरेन कोरोनाको खर्च विवरण



जनकपुरधाम : धनुषाका १५ वटा स्थानीयतहहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको नाममा गरिएको खर्च विवरण सार्वजनिक गरेको छैन् ।

धनुषाका १८ मध्ये अहिलेसम्म मात्र ३ वटा स्थानीयतहले मात्र खर्च विवरण सार्वजनिक गरेको छ । बाँकी १५ वटा स्थानीयतहहरुले सार्वजनिक गर्न नसकेको खर्च विवरण सम्बन्धी सम्बन्धित निकाय समेत मौन देखिएको छ ।

जिल्लाका एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका मध्ये अहिलेसम्म विदेह नगरपालिका, सबैला नगरपालिका र औरही गाउँपालिकाले मात्र खर्च विवरण सार्वजनिक गरेको हो । जसमध्ये सबैलाले वैशाख ६ गतेसम्मको मात्र खर्च हिसाब सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको खर्च विवरण अनुसार असार मसान्तसम्ममा औरही गाउँपालिकाले ४८ लाख २३ हजार १ सय ९७ र विदेह नगरपालिकाले १ करोड १२ लाख ५२ हजार २३ रुपैयाँ खर्च गरेको छ भने सबैलाले वैशाख ६ गतेसम्म करीब ११ लाख रुपैयाँ खर्च गरेको देखाएको छ ।

भ्रष्टाचार गरिएको रकम हिसाब मिलानको आन्तरिक तयारीमा स्थानीयतहहरु रहेकोले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको शीर्षकमा गरिएको खर्च सार्वजनिक नगरेको आरोप लाग्न थालेको छ ।

यस सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफुले सम्पूर्ण स्थानीयतहहरुलाई खर्च विवरण सार्वजनिक गर्न मौखिक रुपमा भनिसकिकेको बताए ।

स्थानीय तहमा कोरोना भाइरस महामारीको अवस्था र मूल्यांकन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला विपत व्यवस्थापन समितिलाई दिइएको छ । तर, खर्च हिसाबप्रति समिति पनि मौन देखिएको छ ।

यता, जनकपुरधाम उपमहानगरपालिकाले खर्च विवरण सार्वजनिक गरिसकेको दाबी गरेका छन । तर कार्यालयको बेभसाइटमा हालसम्म खर्च हिसाब राखिएको छैन् । उपमेयर रिता कुमारी मिश्रले भनिन्,‘हामीले अघिल्लो महिना नै खर्च विवरण सार्वजनिक गरिसकेका छौं । सो खर्च विवरण संघीय तथा प्रदेश सरकारलाई समेत पठाइसकिएको छ ।’

त्यस्तै धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले पनि खर्च सार्वजनिक गरिएको दाबी गरेपनि वेभसाइटमा अपडेट गरिएको छैन । अधिकांश स्थानीय तहका पदाधिकारीले खर्च सार्वजनिक गरिसकिएको दाबी गरेपनि कसैले पनि कार्यालयको वेभसाइटमा हिसाबकिताब अपडेट गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्