समाचारदाता कार्कीमाथि सांघातिक आक्रमण



बनेपा : राष्ट्रिय समचार समिति (रासस)का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आज बनेपामा सांघातिक आक्रमण भएको छ । बनेपा नगरपालिका वडा नं. ८ बसपार्कमा एक हार्डवेयर पसलमा सामान किनिरहेका बेला सूर्यविनायक नगरपालिका वडा नं. १० का उद्धव कार्कीले एक्कासी म्क्का हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

पीडित कार्कीले आक्रमण गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा ठाडो निवेदन दिएका छन । पीडितको निवेदनका आधारमा आक्रमण गर्ने उद्धव कार्कीलाई प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । आक्रमण गर्ने व्यक्ति काभ्रेपलाञ्चोकको साँंगास्थित नेपाल प्रहरी स्कूलका शिक्षकसमेत हुन् ।

नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले विज्ञप्ती जारी गर्दै पत्रकार कार्कीमाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गरी कानुनी कारवाही गर्न माग गरेको छ । घटनाको भत्र्सना गर्दै महासङ्घले दोषीमाथि कडा कारवाहीको माग गर्दै घाइते कार्कीको तत्काल उपचार र क्षतिपूर्तिसमेत सम्बन्धित व्यक्तिबाट भराइदिन प्रशासनसमक्ष माग गरेको छ । यसैबीच नेपाल प्रेस युनियन जिल्ला शाखाले विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

महासङ्घ केन्द्रद्वारा पत्रकार कार्कीमाथि भएको आक्रमणको निन्दा

नेपाल पत्रकार महासङ्घले राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्वाददाता राजाराम कार्कीमाथि आज भएको भौतिक आक्रमणप्रति निन्दा गरेको छ ।

महासङ्घले आज विज्ञप्ती जारी गरी महासङ्घ काभ्रे शाखाका सदस्यसमेत रहनुभएका कार्कीलाई भक्तपुरको सूर्यविनायक नगरापालिका–१० घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति महासङ्घले निन्दा गरेको हो ।

महासङ्घले पत्रकारलाई त्रसित बनाउने अपराधिक कार्यमा संलग्न कार्कीमाथि कानूनी कारवांही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्वाधरुपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ । साथै, महासङ्घले घाइते पत्रकारको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्