अग्रपङ्क्तिमा राष्ट्रसेवक



काठमाडौँ : स्थानीय तह, प्रदेश र सङ्घमा राष्ट्रसेवक निजामती कर्मचारी कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्क्तिमा रहेर जनसेवामा समर्पित छन् ।

प्रत्येक लोककल्याणकारी राज्यले आफ्नो दैनिक कार्यसञ्चालन गर्न र जनतालाई सेवा प्रवाह गर्न निजामती सेवाको गठन गरेको हुन्छ । विपद्को बेलामा झन् जनताले बढी खोज्ने भनेको स्थायी सरकारलाई नै हो । देशमा करिब ८९ हजारभन्दा बढी कर्मचारी निजामती सेवामा क्रियाशील छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव लक्ष्मी निरौला भन्नुहुन्छ, “स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले नीति निर्माण गरिदिन्छन्, त्यसलाई कार्यान्वयन गर्न जनताको सबैभन्दा नजिक बसेर कार्य गर्ने नै स्थायी सरकारले हो ।” सङ्घ, प्रदेश, जिल्ला, पालिका हुँदै वडा तहसम्म अहिले स्थायी सरकार पुगेको छ । तीन तहमा कर्मचारीको समायोजन भएकाले पनि सेवा प्रवाहमा सहज भएको छ ।

स्थानीय सरकार गठन हुनु र वडा तहसम्म स्थायी सरकारको संरचना पुग्नुले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा निकै सजिलो भएको अनुभव सहसचिव निरौलाको छ । त्यसैले कोरोनाविरुद्ध व्यवस्थापन राम्रो छ, वडा तहसम्म व्यवस्थापन नगरेको भए अहिले जति नियन्त्रणमा छ, त्योभन्दा धेरै भयावह हुन्थ्यो, निरौलाको भनाइ छ ।

उता रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रादेवी शर्माको विचारमा समय–समयमा विपद् आउँछ तर विश्वभरि एकैपटक यस्तो महामारी आयो, जसको कुनै तयारी थिएन, तैपनि स्थायी सरकारले सोचेभन्दा राम्रो क्रियाशीलता देखाएको छ । जनतालाई रोग र भोकबाट एकसाथ जोगाउनुपर्ने जिम्मेवारी स्थायी सरकारको काँधमा आएको छ ।

उहाँ भन्नुहुन्छ, “मानिसको ज्यान कसरी बचाउने भन्ने प्रमुख सवाल छ, सधैँ घरभित्रै बस भनेर बन्दाबन्दीले मात्रै समाधान निस्कँदैन, बाँच्नका लागि खानु पनि पर्यो, त्यसका लागि कमाउनु पनि पर्यो । निराशा, तनाव र भोकमरीको जोखिम छ ।” तराई–मधेसका जिल्लामा छिमेकी मुलुकबाट भित्रिने मानिसका कारण कोरोना जोखिमको व्यवस्थापन गर्न स्थायी सरकारलाई धौ–धौ परेको छ ।

निजामती प्रशासन, प्रहरी, सेना, स्वास्थ्यकर्मी सबै नै अग्रपङ्क्तिमा खटेर कोरोनाविरुद्ध लडिरहेका छन् । कतिपय सङ्क्रमित भएका छन् । काठमाडौँ उपत्यकामा ७७ जिल्लाका मानिस बस्छन् । महामारीको व्यवस्थापनमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका हुन्छ नै, त्यसमा पनि कार्यक्षेत्रमा खटिएर काम गर्ने भनेको कर्मचारीतन्त्र नै हो । भक्तपुरका प्रजिअ हुमकला पाण्डे कर्मचारीले अरू बेला पनि खटेर नै काम गर्दथे, अहिले त झन् अग्रपङ्क्तिमै रहेर काम गरेको बताउनुहुन्छ ।

अग्रपङ्क्तिमा रही जनताको सेवामा रहँदा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन् भन्दै प्रजिअ पाण्डे अहिले वडामै रहेर जनताका समस्या थाहा पाउने र सेवा दिने कार्य भएको छ, यो लोकतन्त्रको राम्रो पक्ष हो भन्नुहुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्