सुदूरपश्चिममा ६३ जना सैनिकसहित थप ७५ जनामा कोरोना पुष्टि



कैलाली : सुदूरपश्चिममा आज (सोमवार) थप ७५ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनीहरू सबै नेपाली सेनामा कार्यरत हुन् । लम्की चुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत ६३ जना सैनिकमा कोरोना पुष्टि भएको छ ।

शिक्षालयमा कार्यरत ४ जना सेनामा संक्रमण पुष्टि भएपछि २ सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो । यसअघि सुदूरपश्चिमको डोटीमा कार्यरत २१ जना सैनिकमा पनि एकै दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

धनगढी उप-महानगरपालिका वडा नं.५ का ४ जना, वडा नं.२ का २ जना, वडा नं.१३ का १ जना र घोडाघोडी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको बताए ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा बझाङको थलारा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्