सन्दीप विकेटविहीन, जमैका सेमिफाइनलबाटै बाहिरियाे



एजेन्सी : सीपीएल प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आएका लेग स्पिनर सन्दीप लामिछाने भने नाइट राइसर्डसितको खेलमा विकेट लिनबाट चुके । उनले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए । तीन वाइड बल फालेका उनको बलमा नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका समेत हाने । प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा उनी पाँचौँ स्थानमा रहे । नाइट राइडर्ससितको सेमिफाइनल खेल खेल्नुअघि सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा थिए ।

यसअघि सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिएका थिए । उनी सीपीएलकै सबैभन्दा किफायती बलर भएका छन । सन्दीपले समूह चरणका तीन खेलमा दुई दुई विकेट तथा छ खेलमा एक एक विकेट लिएका थिए । उनलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सीपीएलपछि अब उनको यात्रा इन्डियन प्रिमियर लिग (आइपीएल)तर्फ मोडिएको छ ।

सन्दीप सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो । नाइट राइडर्स सीपीएलको उपाधिको हकदार टोली हो । उसले जमैकासितको खेलमा पनि त्यही कुरालाई सिद्ध गर्यो । समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट राइडर्सको खेल जित्ने आधार ब्याटिङ हो तर जमैकासितको सेमिफाइनलमा नाइट राइडर्सले बलिङ पनि उत्तिक्कै राम्रो गर्यो ।

प्रतिक्रिया दिनुहोस्