खोलाको धमिलो भेल पोखरीमा पस्दा १२ लाखको माछा नष्ट



बाग्लुङ : काेरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ ।ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटक–पटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट भएको हो ।

‘बाढीले पनि सतायो, बन्दाबन्दीका कारण दाना अभाव हुँदा उचित आहार नपाएर पनि माछा मरे,’ फार्मका सञ्चालक पदम खत्रीले भने, ‘झण्डै १२ लाख बराबरको क्षति भएको हाम्रो अनुमान छ ।’ उनका अनुसार गत चैतयता ९०० केजी जति माछा त्यसै खेर गयो ।

२ पटकसम्म पानी थुनिएर पोखरी सुक्दा पनि धेरै माछा मरेका थिए । ट्राउट माछाका लागि चिसो र सफा पानी चाहिन्छ । पोखरीमा नियमित खस्ने चिसो पानी ३० मिनेटभन्दा बढी अवरुद्ध हुनासाथ माछा मर्न थाल्छन् । बन्दाबन्दी र बाढी दुवैको असर माछापालनमा परेको सञ्चालक खत्रीले बताए ।

कोरोना संक्रमणको जोखिम शुरू भएदेखि नै माछा व्यवसायमा धक्का लाग्न शुरू भएको थियो । बन्दाबन्दीअघि उक्त ट्राउट फार्म आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको थियो । सदरमुकामलगायत बजार क्षेत्रमा सञ्चालित होटल/रेस्टुराँबाट माछाको माग आउँथ्यो । फार्मकै आडमा घरवास (होमस्टे) पनि भएकाले केही मात्रामा त्यहीँ खपत हुन्थ्यो ।

फार्ममा उत्पादित ट्राउट माछाका परिकार खुवाउन सञ्चालकहरुले रेस्टुराँ समेत चलाएका छन् । माछापालनमा खत्रीसँगै, प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला–४ का अध्यक्ष जीतबहादुर खत्री र व्यवसायी सुवास राजभण्डारीको लगानी छ । जीतबहादुर र पदम बाबुछोरा हुन् । पदम सत्तारुढ नेकपा ताराखोलाको अध्यक्षसमेत हुन् ।

४ जना मिलेर २ वर्षअघि शुरू गरेको फार्ममा १ करोड लगानी भइसकेको सञ्चालक राजभण्डारीले बताए । फार्ममा साना–ठूला गरेर ३३ पोखरी छन् । पोखरीमा १ लाखभन्दा बढी भुरा अट्ने क्षमता छ । यसपालि बाढी र दाना अभावका कारण ८० हजार जति भुरा नष्ट भएको सञ्चालक राजभण्डारीको भनाइ छ ।

फर्ममा अहिले १० हजार जति भुरा हुर्किरहेका छन् । बिक्रीका लागि योग्य माछा १ हजार २०० किलो जति छन् । स्थिति सामान्य हुँदै गएमा व्यवसाय फेरि उठ्ने विश्वास सञ्चालकमा छ । ‘उद्योग, व्यवसायमा यस्तो चुनौती आउँछ,’ सञ्चालक राजभण्डारीले भने, ‘कहिले घाटा, कहिले नाफा भइ नै हाल्छ ।’ शुरूमा नुवाकोटबाट भुरा ल्याएर ट्राउटपालन शुरू गरिएको थियो ।

बेच्न योग्य हुँदा ३ वटा माछाको तौल १ किलोसम्म हुन्छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वाद र स्वास्थ्य दुवैका हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । प्राविधिक अध्ययनपछि छम्टुमा ट्राउनपालन शुरू गरिएको थियो । ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । माछापालनसँगै स्थानीय जातको कुखुरा पाल्न पनि शुरू गरिएको छ । फार्ममा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्