सहकारीको ५ करोड ६७ लाख ठगी गरेको आरोपमा खड्गी पक्राउ



काठमाडौंः न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका २१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका ३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी गरेको उनीमाथि आरोप छ ।

रकम ठगी गरी फरार रहेका खड्कीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका २३ धापाखेलबाट पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकू पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्