ओली-प्रचण्डबीचको भेटवार्ता सकियो, स्थायी समिति बैठकको एजेण्डा तय



काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तय गर्दै सकिएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा भएको भेटवार्तामा शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

नेकपामा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र त्यसमा नेताहरुले गरेको टिप्पणीलाई एकीकृत गर्दै एजेण्डा तयार पारिएको बताइएको छ । अध्यक्षद्धयले तयार गरेका एजेण्डाहरु भोलिसम्म स्थायी समिति सदस्यहरुलाई पठाउने र कोरोनाका कारण बैठक छोट्याउनेबारेमा पनि सहमत भएको छ ।

भेटवार्तामा तय भएका एजेण्डालाई कार्यान्वयनमा लैजादा आउनै परिणामकाबारेमा समेत छलफल भएको स्रोतले जनाएको छ । नेकपामा खास गरी दुई अध्यक्षको कार्यविभाजनबारे कार्यदलले प्रष्ट पारे पनि वरिष्ठ नेता नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कसरी समेट्ने भन्ने प्रश्न बाँकी नै रहेको बताइएको छ ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्