रामचरण घाइते, ३ साता रोकियो राजमौलीको ‘आरआरआर’



पुणे : ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ को सुटिङ ३ साताका लागि रोकिएको छ।

४ सय करोडको लागतमा निर्माणाधीन फिल्मको सुटिङ पुणेमा भइरहेको थियो। दक्षिण भारतीय सुपरस्टार रामचरण तेजा र एनटीआर जुनियर मुख्य भूमिकामा रहेको फिल्मको सुटिङमा तेजाको कुर्कुच्चामा निकै गहिरो चोट लागेपछि सुटिङ रोकिएको हो।

दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीका पुत्र तेजालाई चिकित्सकले ३ साता आराम गर्न सुझाव दिएपछि निर्माण युनिटले सुटिङ रोकिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ। तेजालाई जिममा वर्कआउट गरिरहेका बेला चोट लागेको बताइएको छ।

यो फिल्मबाट बि–टाउनकी चल्तिकी नायिका आलिया भट्ट र सुपरस्टार अजय देवगन साउथमा डेब्यू गर्दै छन्। आलियालाई तेजाको अपोजिट लिइएको छ भने देवगन पनि एउटा महत्वपूर्ण भूमिकामा देखिनेछन्। फिल्ममा सञ्जय दत्तलाई समेत अनुबन्धित गरिएको चर्चा चलेको थियो।

केही दिनअघि राजामौलीले फिल्मको स्टोरीबारे बताएका थिए। उनका अनुसार भारतीय स्वतन्त्रता संग्रामका दुई महान सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको जीवनीमा फिल्म आधारित छ। 

प्रतिक्रिया दिनुहोस्