कैलालीमा भेटियो दुर्लभ तामे सालक



धनगढीः विश्वमै दुर्लभ तामे सालक (इण्डियन पेङ्गोलिन) कैलालीको एक गाउँमा फेला परेको छ ।

कैलारी गाउँपालिका-५ बङ्गालीपुरमा सो सालक फेला परेको हो । बुधबार राति घरमा पस्न खोजेको सालकलाई स्थानीयले छोपेर राखेका थिए । बिहीबार बिहान वनकर्मीको टोलीले सालकको उद्धार गरेको थियो ।

गाउँमा फेला परेको दुर्लभ सालकलाई उद्धार गरेर उसकै प्राकृतिक बासस्थान बसन्ता वनमा छोडिएको सव डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामअवतार चौधरीले जानकारी दिए ।

घना जङ्गलमा बसोबास गर्ने सालक गाउँमा भेटिएपछि एकाबिहानै हेर्ने मान्छेको भीड लागेको थियो । सालक भेटिएको गाउँ अन्तर्राष्ट्रिय महत्त्वको बसन्ता जैविक मार्गनजिक पर्दछ । सो सालक बसन्ता वनबाटै गाउँसम्म आएको हुन सक्ने बताइएको छ ।

यसअघि, यही प्रजातिको सालक भजनी नगरपालिकाको पशुपति सामुदायिक वनमा फेला परेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार नेपालमा सालक संरक्षित वन्यजन्तु हो ।

यसको महत्त्व बाघ, गैँडा जत्तिकै रहेको छ । यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको छ । सेतो सालक भनेरसमेत चिनिने तामे सालक विश्वमै दुर्लभ मानिने गरेको संरक्षणकर्मी हिरुलाल डङ्गौराले बताए ।

सामुदायिक वनको स्थितिमा सुधार हुँदै जाँदा कैलालीमा धेरै वर्षपछि दुर्लभ सालक देखा पर्न थालेको उनले बताए । तातो हावापानी भएको सालका रुख पाइने वनक्षेत्रमा ६-७ फिटको सुरुङ खनेर सालक बस्न रुचाउने गरेको बताइएको छ । यसको मुख्य आहारा कमिला र धमिरा हो ।

लामो जिब्रो र त्यसमा च्याप च्याप परेको (यालका कारण सालकले एकैचाटीमा धेरै आहारा खान सक्ने क्षमता राख्ने गरेको बताइएको छ । कमिला, धमिराको गोलोमा आफ्नो लामो जिब्रो घुसाएर धेरै बेरसम्म कुर्ने र धेरै आहारा प्रजाति जिब्रोमा टाँसिएपछि एकचोटी खाने सालकको स्वभाव मानिन्छ । यो प्राणी सतर्क हुँदा वा डराउँदा डल्लो परेर मुख लुकाउने गर्दछन् ।

बर्खा याममा बच्चासहित देखा पर्ने सालकले आफ्नो बच्चालाई पुच्छरमा राखेर हिड्ने गर्दछन् । स्तनधारी जनावरमध्ये आफ्नो पुच्छरको बलमा झुण्डिन सक्ने प्राणी सालकमात्रै रहेको प्राणीविद् डा.मुकेश चालिसेले बताए । कुनै खतराको सङ्केत पाउनेबित्तिकै यो प्राणीले आफ्नो बासस्थान परिवर्तन गर्ने गरेको चालिसेको भनाइ छ ।

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीको मध्य पहाडसम्म सालक पाइन्छन् । खबटाको अवैध व्यापार र मासुका लागि सालकको चोरी सिकार हुने गर्छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्