सुन्धारामा बरामद गरिएको सुन बैंकबाट गएको खुलासा



काठमाडौंः गत साउन १३ गते सुन्धारामा बरामद भएको आधा किलो सुन बैंकबाटै खरिद भएको खुलासा भएको छ ।

सुन्धाराका एक व्यापारीले बैंकबाट लगेको सुन तस्करको हातमा पुगेको हो । प्रहरी अनुसन्धानमा न्युरोडका दुई व्यापारीको समेत संलग्नता खुलेपछि उनीहरुलाई पक्राउ गरिएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरुमाथि पनि अनुसन्धान भइरहेको छ । भदौ १५ गते पक्राउ परेका न्युरोडस्थित लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारले बैंकबाट किनेको सुन तस्करलाई बेचेको खुलेको हो ।

नेपालमा वाणिज्य बैंकहरुले मात्रै विदेशबाट सुन खरिद गर्न पाउने व्यवस्था छ । बैंकहरुले खरिद गरेको सुन नेपाल सुनचाँदी व्यवसायी संघको सिफारिसमा बैंकले सुनचाँदी व्यवसायीलाई बिक्री गर्ने गर्छन् ।

ज्वेलर्सले वाणिज्य बैंकहरुबाट खरिद गरेको सुन गहना बनाएर बेच्न पाउने भएपनि यसरी ढिकै भने बेच्न मिल्दैन । विजय ताम्राकारले भने बैंकबाट खरिद गरेको आधा केजी सुन श्रीनिवास उपाध्यायलाई बेचेको र उपाध्यायले निलेश सखियालाई बेचेको पाइएको एसपी राठौरले बताए ।

सुन्धारामा बरामद सुनको बिस्कुट कहाँबाट आयो भनेर अनुसन्धान गर्ने क्रममा यी दुई व्यापारीसम्म प्रहरी पुगेको हो । साढे १५ किलो चाँदी भने न्यूरोडकै सिल्भर स्टेट ज्वेलरीबाट किनेको पाइएको छ । चाँदी ढिका नै बेच्न पाउने भएकाले ती व्यापारी पक्राउ परेका छैनन् ।

साउन १३ गते भएको उक्त घटनामा दुई प्रहरी जवान प्रशन्न श्रेष्ठ र बहादुरसिंह कडायतसहित ११ जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोपमा इल्ताफ हुसेन अन्सारी, निलेश सखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रशन्नका घरबेटी उमेश श्रेष्ठ, कालिगढ मनिष मल्लिक, ज्वेलरी सञ्चालक श्रीनिवास उपाध्याय र विजय ताम्राकार गरी ११ जना प्रहरी हिरासतमा छन् ।

भारतीय नागरिक सञ्जय पटेल र विकास अग्रवाल भने फरार छन् । उनीहरुमाथि संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । यो मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्