आत्महत्या गर्ने क्रम बढ्यो



काठमाडौंः अहिले शिक्षित र पढेलेखेका व्यक्तिबाट आत्महत्या गर्ने क्रम बढेको छ ।

घरेलु हिंसाका कारण शिक्षित महिला आत्महत्या गर्ने क्रम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हरेक दिन १६ जनाले आत्महत्या गर्ने गरेकामा कोरोनाका कारण अहिले त्यो संख्या बढेर २० पुगेको छ । डा.रोसन पोखरेलका अनुसार ८५ प्रतिशतले मानसिक रोगकै कारण आत्महत्या गर्ने गरेका छन् ।

साथीभाइ, समाज, परिवार र व्यक्तिका कारण पनि आत्महत्या गर्ने क्रम बढेको हो । विशेष गरी २५ देखि ४० वर्ष उमेर समूहका महिलाले आत्महत्या गर्ने क्रम बढेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले बताए । नेपालमा हरेक वर्ष ६ हजारले आत्महत्या गर्ने गरेको सरकारी तथ्याङ्क छ ।

आत्महत्याको सोच बनाएका कुनै पनि व्यक्तिले सुरुमै लक्षण देखाउने भएकाले नजिकका आफन्त, परिवार, साथीभाई र समाजले बुझिदिए आत्महत्यालाई रोक्न सकिने उनले बताए । आत्महत्याको सोच बनाएकाहरुले एक्लै बस्न रुचाउने, घुलमिल नहुने आत्महत्याका विषयमा धेरै सोच्ने, नकारात्मक लेख लेख्ने, डोरी लुकाएर राख्ने जस्ता लक्षण देखाउने डा.पोखरेलको भनाइ छ ।

उनले उपचारपछि ८० प्रतिशत मानसिक रोगलाई निको पार्न सकिने हुँदा बेलैमा बिरामीको अवस्थाबारे ध्यान दिन सुझाव दिए । उपचार हुँदैन वा सक्दिन भन्ने सोच हाबी भएकालाई सम्झाई बुझाई गर्नुपर्ने उनले मानसिक रोगको समस्या भएकालाई साईकोथेरापी र केमोथेरापीमार्फत उपचार गरिने जानकारी दिए ।

साइकोथेरापी अर्थात सकारात्मक चिन्तन र केमोथेरापी अर्थात औषधिमार्फत बिरामीलाई ठिक गर्न सकिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.पोखरेलले जानकारी दिए ।

यस्तै, उनले नियमित व्यायाम, योग, श्वास लिने तरिका र ध्यान तथा समयमा सन्तुलित खानपान गर्नुपर्ने सुझाव पनि दिए । स्वास्थ्य मन्त्रालयले मानसिक रोगको समस्या समाधानका लागि निः शुल्क परामर्श दिन १६११ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्