आठ देशका विदेशमन्त्रीहरु मस्कोमा



मस्को: ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीवार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् ।

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) का विदेश मन्त्रीहरूको बैठकका लागि उनीहरु त्यहाँ जम्मा भएका हुन् । यसै क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुबीच आपसी र द्विपक्षीय भेटवार्ता पनि हुने भएको छ ।

हाल सो संगठनमा चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गीस्तान, ताजकिस्तान, उज्बेकिस्तान सदस्य रहेका छन् । भारत र पाकिस्तान पनि सो संगठनमा सन् २०१७ देखि सदस्य भएका हुन् । यस बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर र उनका पाकिस्तानी समकक्षी साह मोहम्मद कुरेसी पनि सहभागी भएका छन् ।

विदेशमन्त्रीहरुको यस बैठकको पूर्वसन्ध्यामा बिहीवार त्यहाँ भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने भएका छन् । त्यहाँ सहभागी विभिन्न देशका विदेशमन्त्रीहरुबीच द्धिपक्षीय मस्कोमा भेटवार्ता गर्ने भएको पनि समाचारमा जनाइएको छ ।

मस्कोमा बिहीवार भारतका विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत र चीनकाबीचमा पछिल्लो समयमा सीमा विवाद चर्किदै गइरहेका बेला विदेश मन्त्रीहरूकाबीचमा हुन लागेको यस भेटवार्तालाई महत्वका साथ हेरिएको छ । रासस

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्