नेप्सेको सिस्टममा फेरि समस्या



काठमाडाैं : दाेस्रो बजारमा लगानीकर्ताले बिहीबार पनि सहज रूपमा कारोबार गर्न पाएनन् । नेप्सेको कारोबार प्रणालीमा समस्या भएपछि दिउँसो सवा २ बजेसम्म लगानीकर्ताले सेयर किनबेच गर्न पाएनन् ।

धितोपत्र ब्रोकरमार्फत भएका खरिदबिक्री अर्डर नेप्सेको मुख्य कारोबार प्रणाली (म्याचिङ सिस्टम) मा पुर्‍याउने सिस्टम टीएमएसमा समस्या भएपछि निर्धारित समयमा लगानीकर्ताले सेयर किनबेच गर्न नपाएका हुन् ।

‘बिहान बजार खुल्दादेखि नै केही समस्या देखिएको थियो,’ एक ब्रोकरले भने, ‘सुरुमा केही ब्रोकरको मात्र अर्डर प्लेसमेन्ट भएको थिएन । त्यसको १०/१५ मिनेटपछि त कुनै पनि अर्डर प्लेसमेन्ट हुन सकेन ।’

त्यसपछि नेप्सेले सूचना निकालेर कारोबार बन्द गरेको थियो । समस्या समाधान भएको भन्दै सवा २ बाट पुनः बजार खुला गर्‍यो । बजार खुलेपछि पनि १०/१५ मिनेट सिस्टमले काम गरेन, त्यसपछि भने नियमित रुपमा कारोबार भयो । बिहानदेखि कारोबार हुन नपाएपछि नेप्सेले समय बढाएर ५ बजेसम्म पुर्‍याएको थियो ।

नेप्सेको कारोबार प्रणालीको समस्या नयाँ भने होइन । एक साताअघि पनि कारोबार प्रणालीमा यस्तै समस्या दोहोरिएको थियो । यसअघि भदौ १४ मा पनि सोही समस्याका कारण बजारमा निर्धारित समयमा कारोबार हुन पाएको थिएन । त्यति बेला पनि नेप्सेले कारोबार अवधि बढाएको थियो । टीएमएसमा समस्या आउँदा दिनभर लगानीकर्ताले कारोबार गर्न नपाएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए ।

‘बिहीबार पनि ब्रोकरका अर्डर प्लेसमेन्ट हुन पाएनन्,’ उनले भने, ‘अचेल टीएमएस सिस्टममा पटकपटक समस्या आउने गरेको छ ।’ समस्या ब्रोकरहरूका तर्फबाट नभई नेप्सेको सिस्टममा रहेको उनको दाबी छ ।

‘विगतमा ब्रोकरको डाटा सेन्टरमा कहिलेकाहीँ समस्या आउँथ्यो, धेरै पहिलेदेखि नै त्यो समस्या समाधान भएको छ ।’ ब्रोकरको साइडमा समस्या देखाएर नेप्से तर्किन खोजेको रानाभाटको भनाइ छ । नेप्सेले भने सुरुमा टीएमएस सिस्टममा समस्या भए पनि दिउँसो नै समाधान भएसकेको दाबी गरेको छ । ‘सुरुमा केही ब्रोकरले अर्डर हाल्न पाएनन्,’ स्रोतले भन्यो, ‘त्यसपछि सबै कारोबार बन्द गरियो । पछि समस्या समाधान भएपछि समय थप गरी कारोबार सुरु गरिएको हो ।’

नेप्सेको कारोबार प्रणालीमा निरन्तरजसो समस्या आउन थालेपछि लगानीकर्ताले सिस्टम अद्यावधिक गरी समस्या सधैंका लागि न्यूनीकरण गर्न लगानीकर्ताले माग गरेका छन । पटकपटक समस्या दोहोर्‍याएर नेप्सेले लगानीकर्तालाई मर्कामा पारेको उनीहरूको गुनासो छ । ‘अब त सुधार होला भन्यो, अहँ फेरि त्यही समस्या कति सहनु,’ एक लगानीकर्ताले भने, ‘अति भो ।’ पूर्ण रूपमा अनलाइन कारोबार प्रणालीलाई प्रोत्साहन गरिरहेको समयमा पटकपटक देखिने यस्ता समस्या बाधक हुने भएकाले तिनको दीर्घकालीन समाधान खोज्नुपर्ने उनीहरूको माग छ ।

कारोबार प्रणालीमा समस्याबीच पनि बिहीबार करिब २ अर्ब २१ करोडबराबरको सेयर किनबेच भएको छ । सो दिन नेप्से १२.४९ अंकले बढेर १ हजार ५ सय २०.६९ बिन्दुमा उक्लेको छ । उक्त दिन कारोबारमा आएका १२ समूहमध्ये निर्जीवन बिमा र जीवन बिमा उपसमूहको परिसूचकमा उच्च वृद्धि भएको छ । निर्जीवन बिमा समूहको परिसूचक करिब ४ प्रतिशत र जीवन बिमाको परिसूचक २.१९ प्रतिशत बढेको हो ।

करिब ३० हजार कारोबारबाट १ सय ८९ कम्पनीका ४३ लाख २९ हजार ६ सय ६५ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचबाट करिब सवा २ अर्ब रुपैयाँबराबरको सेयर किनबेच भयो । सो दिन नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा परेका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.५७ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीको कारोबार मापक फ्लोट परिसूचक ०.७३ प्रतिशत बढेको छ । यससँगै सेयर बजारको आधार कुल बजार पुँजीकरण २० खर्ब २१ अर्ब रुपैयाँ कायम भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्