आगलागी पीडितलाई ताक्लाकोटमा रहेका हुम्लीद्वारा आर्थिक सहयोग



सिमकोट : काम र व्यापारको सिलसिलामा तिब्बतको ताक्लाकोटमा रहेका हुम्लीले आगलागी पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।

यही १७ भदौमा सर्केगाड गाउँपालिका–७ वामनबाडा ठूलोगाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएको छ । घरपरिवारसहित अन्य आंशिक क्षति भएका घरपरिवारलाई हुम्लीले १ लाख ३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

ताक्लाकोटबाट आएको आर्थिक सहयोग सिमकोट आइपुगेका आगलागी पीडितलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र वडाध्यक्ष कृष्णप्रसाद जैशीको रोहवरमा वितरण गरिएको हो ।

आगलागीबाट घर जलेर पूर्णरूपमा क्षति भएका ६ घरपरिवारलाई जनही १० हजार र आंशिक क्षति हुने छ घरपरिवारलाई जनही ६ हजार ५ सय रुपैयाँ प्रदान गरिएको हो ।

ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका हुम्लाका स्थानीयहरुले कैलाश व्यापार सङ्घ गठन गरेको र सो सङ्घका उपाध्यक्ष लामु लामामार्फत सहयोग रकम प्राप्त भएको हो ।

लामाले समेत ५ हजारका साथै अन्य २८ जनाले सहयोग गरेको छिटुप लामाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्