ओली सरकारले राणा शासनको कार्यशैली प्रदर्शन गर्यो : पूर्वमन्त्री पासवान



जनकपुरधाम : बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले केपी ओली नेतृत्वको सरकारले देशमा राणा शाषनको जस्तो कार्यशैली प्रदर्शन गरिरहेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरि पूर्वमन्त्री पासवानले ओली नेतृत्वको सरकारले जनतालाई भेडाबाख्रा सम्झिरहेको आरोप लगाउँदै त्यसमा प्रदेश २ सरकारले पनि साथ दिइरहेको जिकिर गरे ।

उनले भने,‘जनता हत्या हिंसाको शिकार भईरहेपनि सरकारका मन्त्री र सांसदहरु आनन्दको जिवन बिताइरहेका छन् । प्रदेश २ सरकारले जनताको जिवनसँग समेत खेलवाड गरिरहेको छ ।’

सरकारले नै जनताको हत्या गराईरहेको आरोप लगाउँदै नेता पासवानले देशमा मुस्लिम, दलित, जनजाती, पिछडावर्ग, महिला कोही सुरक्षित नरहेको जिकिर गरे । प्रहरी प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनउँदै उनले केपी ओलीको सरकारले प्रहरीलाई गुण्डा बनाएर राखेको आरोप लगाए ।

मुख्यमन्त्री लालबाबु राउत रौतहट घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई निलम्बन गर्ने पक्षमा नरहेको भन्दै उनले मुख्यमन्त्री समेत गुण्डाको पहरेदार भई मुकदर्शक बनेर बसेको आरोप लगाए ।

प्रहरीको थुनाभित्र मृत्यु भएका विजय रामको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका बेला आफूलाई प्रहरीले होटलमा बन्दी बनाएको आरोप समेत उनले लगाएका छन् । उनले कोरोनाको बहानामा आफुलाई राज्यले मार्ने प्रयास गरेको आरोप लगाए । त्यसबेला आफु घर जान खोज्दा घर समेत जान नदिएको उनले बताए ।

रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि आमरण अनसन बसेका उनलाई १८ भदौको राति प्रहरीको टोलीले धरान पु¥याएको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि प्रहरीले उनलाई धरान लगी उपचार गराएको थियो । सिरहामै स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आउँदा पनि होटलको एउटा कोठाभित्र आफुलाई जर्बजस्ती राखिएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा पुर्वमन्त्री पासवानले राज्यको यस्तो राणाशासनको जस्तो कार्यशैलीलाई आफुहरुले चाँडै परास्त गर्ने दाबी गरे । उनले राज्यसँग लड्नका लागि निकट भविष्यमै बहुजन शक्ति पार्टीले भिम सेनाको गठन गर्ने उदघोष समेत गरे ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्