सरकारको प्रवक्तामा ज्ञवाली : गुटभन्दा बाहिर ओलीको अविश्वास



काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारको प्रवक्ता नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालीन अर्थ, सूचना, सञ्चार तथा प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रवक्ता पद रिक्त थियो।

ज्ञवाली अन्य व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ता नियुक्त भएको बुझिएको छ । १९ भदौमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।

पछिल्लो समय संसद सदस्य नरहेका मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिएका थिए । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुनः मन्त्री नियुक्‍त भएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका सन्दर्भमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि खतिवडाले सो मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए ।

तर ज्ञवालीलाई सरकारको प्रवक्तको मात्र जिम्मेवारी तोकिएको छ । नेकपा स्थायी समिटी बैठकले मन्त्रिमण्डल पुनर्गठनको प्रस्ताव पारित गरिसकेकाले उनलाई सरकारको प्रवक्ता मात्र तोकियो हो । यद्यपि सञ्चार मन्त्री सरकारको प्रवक्ता हुने प्रचलन भए पनि तत्कालका लागि मात्र ज्ञवालीलाई प्रवक्ता बनाइएको छ ।

सरकारको प्रवक्तामा पर्यटन संस्कृति तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईलाई युक्त गर्ने चर्चा थियो । प्रधानमन्त्री ओलीले केही दिनपछि सूचना तथा संचार प्रविधि मन्त्रालयको जिम्मा समेत भट्टराईलाई दिने तयारी गरेको भनिएको थियो ।

तर ओलीले आफ्ना विश्वास पात्र ज्ञवालीलाई नै सरकारको प्रवक्ता नियुक्त गरे । पार्टीमा माधव नेपाल खेमाका भनेर चिनिने भट्टराईले सुरुदेखि नै सञ्चार मन्त्रालयको जिम्मेवारी लिन चाहेका थिए ।

तर ओली सरकारी सूचनाको भारी भट्टराईलाइ्र्र दिन तयार भएनन् । यसअघि खतिवडालाई सरकार सञ्चार मन्त्रालयसहित प्रवक्ता जिम्मेवारी तोक्दा पनि भट्टराईको नाम चर्चामा थियो ।

तर ओली अर्थ र सञ्चार मन्त्रालय आफ्ना विश्वास पात्र भन्दा टाढा दिन चाहँदैनन् । ओलीले भट्टराईमाथिको अविश्वासका कारण मन्त्रिमण्डल पुनर्गनको संघारमा पनि ज्ञवालीलाई नै सूचनाको भारी बोकाएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्