कैलालीका १३ सहित सुदूरपश्चिममा ५४ जनामा कोरोना पुष्टि



धनगढीः सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार गोदावरी नगरपालिकाका दुई महिला र सात पुरुष गरी ९ जना र धनगढी उपमहानगरपालिकाका तीन महिला र एक पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी श्रेष्ठले वडा नं.५ का दुई महिला, वडा नं.६ का एक महिला र वडा नं.८ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए । चार जना थपिएसँगै धनगढीमा संक्रमितको संख्या चार सय ४० पुगेको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना परीक्षण भएकोमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार बैतडीका ८, दार्चुलाका तीन र बझाङका एक जनामा संक्रमण पुष्टि भएको हो । बैतडीको दशरथचन्द नगरपालिका वडा नं.७ का ६ जना, डिलासैनी गाउँपालिकाका दुई जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना, महाकाली नगरपालिका वडा नम्वर ४ का एक जना र बझाङको दुर्गाथली गाउँपालिका वडा नं.२ का एक जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै डोटीका थप २९ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार डोटीको सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आर्दश गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय ९० पुगेको छ । संक्रमण पुष्टि भएका ५ हजार सात सयले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भएको छ ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्