बुङ्मतीमा विचा पूजा गर्न भक्तजनको भीड



ललितपुर : ललितपुर महानगरपालिका–२२ बुङ्मतीमा भक्तजनको भीड लागेको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मती ल्याइएको चार दिनमा ‘विचा पूजा’ गर्ने परम्पराअनुसार आज यहाँ भक्तजनको भीड लागेको हो ।

करुणामय बुङ्मती फर्केको चार दिनमा ‘कसरी बस्नु भएको छ’ भनेर भक्तजन हेरविचार गर्न आउने परम्पराका साथ पूजाआजा गर्ने चलन रहेको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताएयो । उनले भने, “काठमाडौँ उपत्यकाका तीनै शहरका साथै छिमेकी गाउँबाट धेरै भक्तजन कोही हिँडेर, कोहीे सवारीसाधन प्रयोग गरेर मच्छिन्द्रनाथको पूजा गर्न आइरहनुभएको छ ।” धार्मिक आस्था भएका मानिसलाई कोरोना महामारीले खासै धर्मकर्म गर्ने कामबाट पर राख्न नसकेको शाक्यले जानकारी गराए ।

विगतका वर्षमा झै उपत्यकाका विभिन्न ठाउँलगायत आसपास क्षेत्र खोकना, भैँसेपाटी, चापागाउँ, थेचो आदिका मानिसले बिनाबाजागाजा यसवर्ष दर्शन गर्न आउने क्रम रहेको मच्छिन्द्रनाथका पानेजु हेम बज्राचार्यले बताए । उनले भने, “यहाँ हाल वृष्टिदेवको मन्दिर निर्माणाधीन रहँदा सो मन्दिर पछाडि रहेको अस्थायी मन्दिरमा हामीले लोकेश्वरलाई राखेर दैनिक पूजाआजा पनि गरिरहेका छौ ।”

लोकेश्वरलाई बुङ्मती ल्याउनु अघि र भदौ ३० गते मङ्गलबार वडाले दुई पटक “बुङ्मतीमा यसपटक भक्तजनलाई विचा पूजा गर्न नआउन अनुरोध” गरे पनि आउने र पूजा गर्ने अनि जाने क्रम भइरहेको वडाध्यक्ष अम्विरराज शाक्यले बताए । उनले भने, “यो पहिला देखिनै चल्दै आएको परम्परा भएर होला हामीले सूचना प्रकाशित गरेर नआउन अनुरोध गरे पनि भक्तालुहरुले मान्नु भएको छैन ।” मच्छिन्द्रनाथको आस्था भएका सबै समुदायका मानिस बुङ्मती दर्शन गर्न आउने र जाने क्रम भइरहेको शाक्यले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्