निजामती ट्रेड युनियन निर्वाचन कार्यालय स्थापनामा अवरोध



काठमाडौं : निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनविरुद्ध तराई मधेशमा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले निर्वाचन कार्यालयको ब्यानरसमेत थुतेर लिएर गएका छन् ।

आफूहरुको मागलाई बेवास्ता गरी एकल जातीय आधारमा निर्वाचन गर्न लागिएको भन्दै नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आन्दोलनको निर्णय गरेको हो । मधेशी, आदिवासी जनजाति, दलित, महिला र विपन्न वर्गका निजामती कर्मचारीको सहभागिताबिनाको ट्रेड निर्वाचन मान्य नहुने भन्दै मञ्चले सबैको सहभागितामुलक निर्वाचन गराउन माग गरेको छ ।

मञ्चको मागलाई बेवास्ता गरी निर्वाचन गराउन थालिएपछि प्रदेश २ का विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको छ । प्रदेश २ का जिल्लामा खोलिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यालय स्थापनामा अवरोध खडा गरेका छन् । उनीहरुले निर्वाचन कार्यालयको ब्यानर साइनबोर्ड थुतेर लिएर गएका छन् । सहमतिबिना निर्वाचन सम्भव नहुने भन्दै मञ्चआवद्ध कर्मचारीहरुले प्रदेश २ मा निर्वाचन हुन नदिने पनि चेतावनी दिएको छ ।


यसैबीच, बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयमा विश्व स्वास्थय संगठनका तर्फबाट कार्यरतन प्रादेशिक स्वास्थ्य अधिकृत राजकुमार महतोलाई सोही मन्त्रालयका नीति मापदण्ड र जनस्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले दुर्व्यवहार गर्ने गरेकोप्रति खेद प्रकट गरेको छ । महतोलाई तत्काल पुनःबहाली गर्न माग गर्दै नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले दुर्व्यवहार गर्ने विष्टलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्