भोलि २ वटा रेल जनकपुरधाम आइपुग्ने



जनकपुरधाम : जनकपुर-जयनगर रुटमा चल्ने २ वटा रेल भोलि १२ बजेसम्म जनकपुरधाम स्टेसनमा आइपुग्ने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् ।

रेललाई स्वागत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र रेल विभागको टोली जनकपुरधाम जान लागेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको बताइएकोे छ ।

रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि भोली आइपुग्ने भएको हो । रेलको परीक्षणपछि मात्रै औपचारिक रुपमा विभागले बुझ्ने जनाएको छ ।

भोलि आइपुग्ने पक्का भएपनि सञ्चालन मिति निश्चित छैन । रेल आएपछि छिट्टै संचालन गर्ने तयारी छ । रेल्वे विभागले तीन दिन अगाडि मात्रै १ सय २९ कर्मचारी राख्न दरखास्त माग गरेको थियो । कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ । कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने छ ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म संचालनका लागि ल्याउन लागिएको रेल सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत ल्याएको हो । जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर मार्गको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको जनाइएको छ । कुर्था-विजलपुरा ५२ किलोमिटर रेल चलाउन तयारी गरिएको छ ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्