गौतमद्वारा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प पूरा गर्ने



काठमाडौंः नेकपा उपाध्यक्ष एवं राष्ट्रिय सभाका नव नियुक्त सदस्य वामदेव गौतमले नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प पूरा गर्ने बताएका छन् ।

राष्ट्रिय सभाको गरिमा बढाउनका लागि निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्ने उनले बताएका हुन् । संसद सचिवालयमा आज (बिहीवार) राष्ट्रिय सभा सदस्यको शपथ लिएपछि संक्षिप्त सम्बोधन गर्दै गौतमले मुलुकको पक्षमा काम गर्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन् । गौतमले भने,‘राष्ट्रिय सभाको गरिमा बढाउनका लागि संविधान र नियमावली अनुसार मैले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्न आएको छु । मैले यो सभाको सदस्य रहँदासम्म कहिले पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै क्रियाकलाप गर्ने छैन, मैले राष्ट्रिय सभाको जिम्मेवारी पूरा गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताप्रति सधैँ बफादार भएर मैले आफ्नो कर्तव्य निर्वाह गर्नेछु ।’

नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प राष्ट्रिय सभामा रहेर पूरा गर्ने उनले बताए । ‘हाम्रो पार्टी (नेकपा) ले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ, त्यो संकल्पबमोजिम त्यो कार्य सम्पन्न गर्नका लागि के कति भूमिका निर्वाह गर्नसक्छु, त्यो भूमिका गर्नेछु’-भने ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्