बक्सिङ प्रशिक्षक रहिमुभको बिदा, आजै स्वदेश फिर्ता



काठमाडौंः नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभको बिदाई गरेको छ ।

आज (बिहीबार) बक्सिङ संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरेका हुन् । उनी आजै स्वदेश (उज्वेकिस्तान) फर्कदै छन् ।

उनी गत अक्टोबरमा १ वर्षका लागि नेपाल आएका थिए । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण निर्धारित समयअघि नै स्वदेश फर्कन लागेको बक्सिङ संघका प्रवक्ता श्याम अवालेले बताए ।

उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा जोर्डनमा भएको ओलम्पिक क्वालिफाइङमा सहभागिता जनाएको थियो । १३ औं सागमा नेपालले ३ स्वर्ण, ६ रजत र ६ कास्य जितेको थियो ।

ओलम्पिक क्वालिफाइङमा सनिल शाहीले १ बाउटसमेत जितेका थिए । बिदाइका अवसरमा बक्सिङ संघका अध्यक्ष राम अवालेले रहिमुभको प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको भन्दै उज्वेकिस्तान बक्सिङ संघलाई धन्यवाद दिए । राम्रो प्रशिक्षण पाए नेपाली खेलाडी विगतको भन्दा राम्रो नतिजा दिने क्षमता रहेको प्रशिक्षक रहिमुभले बताए ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्