आज सुदूरपश्चिममा ३९ जना कोरोना संक्रमित थपिए



धनगढी : आज सुदूरपश्चिम प्रदेशमा ३९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

शनिवार सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका-१२ का चार जना, धनगढी उप-महानगरपालिका-१ का ३ जना, वडा नं.८ का २ जना, वडा नं.२ का एक जना र जानकी गाउँपालिका वडा नं.६ का १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । बझाङको खप्तड छान्नाका २ जनामा पनि संक्रमण पुष्टि भएका छन् ।

डडेल्धुरामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले एक सय ८६ जनाको नमूना परीक्षण गर्दा डडेल्धुरा, बैतडी र दार्चुलाका २६ जनामा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका एक जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, अमरगढी नगरपालिकाका १ जना र बैतडीको पाटन नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ७ सय ७५ पुगेको छ । संक्रमण पुष्टि भएका ५ हजार ७ सय २४ जनाले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ ।

प्रकाशितः ३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्