धनगढीमा छ महिनापछि हवाई सेवा पुनः सञ्चालन



कैलाली : धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा भोलिदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध यएरले काठमाडौँ—धनगढी—काठमाडौँ सम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड—१९ को जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर एक पटकमा एउटामात्र उडान हुन लागेको उनले बताए ।
समिट एयरले केही दिनअघि नेपालगन्ज—बाजुरा—धनगढी र धनगढी—बाजुरा—नेपालगन्जसम्म दुईवटा चार्टर उडान गरेको थियो । यात्रुको सङ्ख्याका आधारमा आगामी दिनमा समिट एयरले सुदूरपश्चिमका केही जिल्लामा नियमित हवाई सेवा शुरु गर्न सक्ने जनाइएको छ ।

प्रदेशको डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावन मार्गको कालोपत्र लगायतका कामको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरिएको छ । यात्रुको सङ्ख्या बढ्दै गएमा आगामी दिनमा यी विमानस्थलमा नियमित रुपमा हवाई सेवा सञ्चालन गर्न सकिने देखिएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढीस्थित कार्यालय बन्द गरिएको छ । निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउन्टर बन्द गर्नु परेको कार्यालयका प्रमुख हरिदत्त पन्तले बताए । निगमले धनगढी विमानस्थलबाट कोभिड—१९ को सङ्क्रमण फैलिनु अघि गत चैतसम्म काठमाडौँ—धनगढी—काठमाडौँसम्म हप्तामा तीन दिन ‘एमए ६०’ जहाजमार्फत हवाई सेवा उपलब्ध गराउँदै आएको थियो ।

“नयाँ जहाजको व्यवस्था नहुन्जेलसम्म काउन्टर पुनः सञ्चालन हुँदैन”, उनले भने, “एमए ६० जहाज खर्चिलो र उपयुक्त नभएको देखियो ।”

प्रतिक्रिया दिनुहोस्