जनकपुरधाम–काठमाडौं आन्तरिक उडान आजदेखि हुँदै



जनकपुरधाम : कोरोना संक्रमणको त्रासका कारण विगत लामो समयदेखि बन्द रहेको जनकपुरधाम–काठमाडौं आन्तरिक उडान आज (सोमबार) देखि सुरु हुने भएको छ ।

नेपाल सरकारले कोरोना संक्रमणलाई रोक्न तथा न्यूनीकरणका लागि बन्द गरेको आन्तरिक उडान असोज ५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । नेपाल सरकारको सो निर्णयसँगै १ सय ८० दिनपछि जनकपुरधाम–काठमाडौंको आन्तरिक उडान सञ्चालनमा आउन लागेको हो ।

गत २४ मार्च २०२० देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान बन्द गरिएको थियो । आन्तरिक उडान सञ्चालनमा ल्याइएको भएपनि अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने छैन ।

जनकपुरधामका लागि पहिलो उडान बुद्ध एयरको आज बिहान साढे ११ बजे काठमाडौंबाट हुनेछ भने दोस्रो उडान यति एयरको अपरान्ह ३ बजे हुनेछ ।

कोरोनाका कारण बन्द रहेको उडान लामो समय पश्चात सञ्चालनमा आउने भएपनि भाडादरमा भने कुनै बृद्धि गरिएको छैन । जनकपुरधाम–काठमाडौंको भाडादर पहिलेको जस्तै ३ हजार, ३ हजार ३ सय र ४ हजार रहेको छ ।

आजबाट सुचारु भइरहेको आन्तरिक उडानमा यात्रुहरुले मास्क र पन्जा अनिवार्य लगाउनु पर्नेछ भने बिमान भित्र यात्रुले हातमा सानो ब्यागहरुमात्र लैजान पाउनेछन् । त्यस्तै, १००.४ फरेन्हाइट ज्वरो, सुख्खा खोकी र थकान जस्ता लक्षण देखिएका व्यक्तिलाई विमानस्थल तथा विमानमा प्रवेश नगराइने जानकारी दिइएको छ ।

प्रकाशित : असोज ५, २०७७

प्रतिक्रिया दिनुहोस्