राप्रपाले बुझायो निर्वाचन आयोगमा दल दर्ताको निवेदन



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन बुझाएको छ ।

मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि राप्रपाका नेताहरूले निर्वाचन आयोगमा दल दर्ताको निवेदन बुझाएका हुन् ।

कलम थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका पार्टीहरू एकता भएपछि बनेको राप्रपाले दल दर्ताको निवेदन आयोगमा बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

आयोगमा दर्ता भएको साबिकको कमल थापा नेतृत्वको राप्रपाको विधानमा केही संशोधनसहित कायम राख्दै निवेदन दिइएको राप्रपाका नेताहरूले बताएका छन् । उक्त विधानमा रहेको एक अध्यक्षको ठाउँमा ३ अध्यक्ष, १ सय ६५ केन्द्रीय सदस्यको ठाउँमा ३ सय २७ केन्द्रीय सदस्य र चुनाव चिह्न ‘हलो’ राख्ने लगायतका संशोधनको व्यहोरासहित निवेदन दिइएको श्रेष्ठले बताए ।

यसैगरी २०७८ वैशाख तेस्रो हप्ता केन्द्रीय महाधिवेशन गर्ने पनि राप्रपाको निवेदनमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगमा निवेदन दिनुपहिला बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राप्रपाको विधानलाई कायम गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने, पार्टीको एकता महाधिवेशन आगामी वैशाख २५–२८ गते गर्ने, झण्डामा गाई र चुनाव चिन्ह ‘हलो’ हुने निर्णय गरेको थियो ।

गत फागुनमा एकता गरेर राप्रपा बनेको थियो । पार्टी एकतापछि विधान, चुनाव चिह्न, झण्डालगायत विषयमा राप्रपामा विवाद थियो । जसकारण दल दर्ता प्रक्रिया अगाडि बढाउनमा ढिलाइ भएको थियो ।

पार्टी एकतालाई कायम गर्ने भन्दै हलोलाई चुनाव चिह्नका रूपमा अध्यक्ष थापाले मानेपछि वरिष्ठ नेता दीपक बोहोराको नेतृत्वमा राप्रपाको टिम निर्वाचन आयोग पुगेको थियो । निवेदन लिएर निर्वाचन आयोग पुग्नेमा राप्रपाका नेताहरू ध्रुवबहादुर प्रधान, मोहन श्रेष्ठ, रामशरण पाठक, प्रदीपकुमार उदय, वरिष्ठ अधिवक्ता तथा केन्द्रीय सदस्य राजु बस्नेत, हेमजंग गुरुङलगायत थिए ।

निर्वाचन आयोगले राप्रपाले बुझाएको निवेदनको हेरेपछि बैठक बसेर दल दर्ताको प्रमाणपत्र दिनेछ ।

प्रकाशित : असोज ७, २०७७

प्रतिक्रिया दिनुहोस्