बीपी प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द



धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार र प्रदेश सरकारले पीसीआर परीक्षणमा आवश्यक किट उपलब्ध नगराएका कारण प्रतिष्ठानमा पीसीआर परीक्षण तीन दिनदेखि बन्द भएको हो ।

पीसीआर परीक्षण नहुँदा उपचाररत बिरामीको शल्यक्रिया समेत रोकिएको छ । प्रतिष्ठानको आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी , प्रसूति वार्ड, बच्चा वार्डलगायतका वार्डमा भर्ना भएका बिरामीको शल्यक्रिया रोकिएको हो ।

यता बिरामीको शल्यक्रिया रोकिएपछि बिरामीको ज्यान नै जोखिममा परेको भन्दै पीडित परिवारले तत्काल पीसीआर परीक्षण गर्न र शल्यक्रिया सेवा सुचारु गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख डा. पसुपती चौधरीले प्रतिष्ठानमा भर्ना भएका सयौं बिरामीको पीसीआर परीक्षण नभएका कारण शल्यक्रिया हुन नसकेको बताएका छन् । उनले शल्यक्रिया गर्न प्रतिष्ठान भर्ना भएका बिरामीको अनिवार्य पीसीआर रिपोर्टलाई अनिवार्य गरेको बताए ।

डा. चौधरीले पीसीआर परीक्षण नभएकै कारण प्रतिष्ठानको हाडजोर्नी विभाग र आकस्मिक कक्षमा भर्ना भएका दर्जनौं बिरामीको शल्यक्रिया रोकिएको जानकारी दिए ।

पीसीआर परीक्षण नभएका कारण प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएकी संखुवासभा सभापोखरी गाउँपालिकाकी २६ वर्षीय प्रभा लिम्बूले पनि शल्यक्रिया रोकिएको प्रतिष्ठानको युनिट १ का इन्चार्ज डा. रोहित रिजालले बताए । उनी प्रतिष्ठानमा पत्थरीको शल्यक्रिया गर्न आएकी हुन् ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्