सामाजिक सुरक्षा भत्ताको विकृति रोक्ने सरकारको योजना



सरकारले सामाजिक सुरक्षा भत्ताका विकृति रोक्ने कानुनी व्यवस्था नै गर्ने तयारी गरेको छ। अब कुनै पनि लाभग्राही व्यक्तिले दोहोरो सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था सरकारले ल्याउन लागेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापिका संसद सचिवालयमा दर्ता गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दोहोरो सुविधा लिन नपाइने व्यवस्था गरेको छ।

उक्त विधेयकको दफा १४ को उपदफा १ मा व्यवस्था गरिएको छ– कुनै नागरिकले एकभन्दा बढी प्रकारको सामाजिक सुरक्षा पाउने रहेछ भने निजले रोजेको कुनै एकमात्र सामाजिक सुरक्षा पाउनेछ ।

सोही दफाको उपदफा २ मा एक भन्दा बढी सुविधा पाउने नागरिकले रोजेबमोजिम एकमात्र सुविधा लिन पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित मनोनयन भएको व्यक्ति, सरकारी कोषबाट निवृत्तिभरण पाइरहेको व्यक्ति, तथा अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक वा सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था विधेयकमा गरिएको छ।

यसअघि कार्यविधिमार्फत यस्तो भत्ता वितरण गरिँदै आएकामा ऐन नै ल्याएर यसलाई व्यवस्थित गर्न खोजिएको हो।

प्रतिक्रिया दिनुहोस्