कांग्रेसद्वारा चक्र बास्तोलाको निधनमा शोकसभा



काठमाडाैं : कांग्रेस नेता चक्र बास्तोला निधनको १३ औ पुण्य तिथिका दिन आज पार्टीले औपचारिक शोकसभाको आयोजना गरेको छ ।

 

पार्टी मुख्यालय सानेपामा भएको शोकसभामा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्कासहित बास्तोलाका छोरीहरुको उपस्थिति थियो । 

 

शोकसभामा सभापति देउवाले बास्तोलाको भूमिका देश र कांग्रेस दुवैका लागि महत्वपूर्ण भएकाले समयले उनको मूल्यांकन गर्ने बताए । देउवाले बास्तोलाबाट आफूसमेत भारतको वनारसमा पहिलो पटक भेटेको राजनीतिक प्रसंग झिक्दै त्यसैबाट प्रेरणासमेत पाएको बताए ।

 

माओवादीलाई जनयुद्धबाट शान्ति प्रक्रियामा ल्याउन बास्तोलाको भूमिका महत्वपूर्ण भएको भन्दै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रमा बास्तोलाको अभाव सदैव खड्किने बताए । 

 

शोकसभामा उपसभापति निधि भावक भएका थिए । निधिले आफू सधैं बास्तोलाको राजनीतिक ज्ञानमा प्रभावित भएको बताए । 

 

पार्टी र देशको वर्तमान अवस्थामा बास्तोलाको भूमिका सदैव सान्दर्भिक भएको निधिले बताए । कार्यक्रममा बास्तोलाका छोरीद्वय र भान्जीसमेत पर्ने कांग्रेसकी राष्ट्रिय सभा सांसद सरीता प्रसाईले बास्तोलाले नेपाली राजनीतिमा दिएका योगदानबारे बोलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्