साना हतियारले सीमा क्षेत्रमा सुरक्षा चुनौती



सर्लाही : छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ ।

अवैध हतियार बोक्ने नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीको समूह रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा आपराधिक गतिविधिहरू हुने गरेका प्रहरीले अनुमान गरेको छ ।

प्रहरी उपरीक्षक राठौरले खुला सीमाको फाइदा उठाउँदै अवैध लागुऔषध सहजै नेपाली बजारमा आउने गरेको भए पनि यसलाई रोक्ने प्रयास गरिरहेको बताए । “हामीले सीमाक्षेत्रमा निकै कडाइ गर्दै आएका छौँ तर पनि खुला सिमाना भएकाले कतै न कतैबाट चोर बाटो हुँदै अवैध लागू औषध बोकेर नेपाल प्रवेश गर्ने आपराधिक समूह रहेकाले उच्च सतर्कताका साथ खटेर काम गरेका छौँ”, उनले भने ।

सीमा क्षेत्रको भारतीय बजारहरूमा अवैध लागू औषध खुलेआम बिक्री हुने हुँदा चुनौती बढेको उनको भनाइ छ । यसबाट दुवै देशका नागरिकलाई सुरक्षा चुनौती बढेको उनले बताए । माओवादी द्वन्द्वको समयमा साना हतियारका साथै अवैध लागूऔषधको निकै बिगबिगी भएको थियो । त्यसबेला साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको प्रहरीको भनाइ छ । हत्या, अपहरण, लुटपाटजस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्