संघीय ऐनलाई नै टेकेर प्रदेश २ सरकारले दियो कर्मचारी भर्ना गर्न स्वीकृति



जनकपुरधाम : प्रदेश २ सरकारले कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ ।

प्रदेशमा निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको हो ।

सोमबार बसेको प्रदेशस्तरीय मन्त्री परिषद्को बैठकले प्राविधिक कर्मचारी भर्नाको स्वीकृति दिएको हो ।

बैठकले स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तहसम्मका लागि भर्ना लिन स्वीकृति दिइएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए ।

कोरोना महामारीमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै प्रदेश सरकारले स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको हो ।

यसैगरी बैठकले लोकसेवा आयोगको ओएनएम समेत पारित गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका अनुसार लोकसेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्